दुहबी । सुनसरीको दुहबीमा दोश्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान च्याम्पीयनशीप प्रतियोगिता सञ्चालन हुने भएको छ ।
मंगलबार दुहवीमा आयोजित पत्रकार सम्मेलनमा सुनसरी जिल्ला डोरीतान संघका अध्यक्ष निश्चलराज शाक्यले प्रतियोगिताबारे जानकारी दिनुभएको हो ।
जिल्ला डोरी तान संघको आयोजनामा दुहवी ५ स्थित श्रीसरस्वती माविको खेल मैदानमा फागुन २३ गतेबाट सुरु हुने प्रतियोगितामा नेपालका ६ र भारतका ४ गरि १० टिमको सहभागिता हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल फागुन २४ गते हुनेछ । पत्रकार सम्मेलनमा नेपाल डोरी तान संघका केन्द्रीय उपाध्यक्ष सुभासश्री पोखरेलले प्रचारप्रसारको अभावमा ओझेल परेको खेल संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । अहिले नेपालभर ३२ जिल्लामा तथा सुनसरी र मोरङका सबै स्थानीय तहमा डोरीतान संघ गठन भइसकेको छ ।
सुनसरी जिल्ला डोरी तान संघ र मनमोहन स्पोर्टस एकेडेमी तथा मोरङ डोरीतान संघको सहकार्यमा हुने अन्तराष्ट्रिय डोरीतान गोल्डकप प्रतियोगितामा ३६ लाख ७२ हजार ८ सय खर्च हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको निर्णय लिग र नकआउट गरी विभिन्न चरणमा हुने बताइएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख, ट्रफी, मेडल तथा प्रमाण पत्र र दोश्रो हुने टिमलाई नगद ५० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । सुनसरी जिल्ला डोरीतान संघले दुहबीमा एक वर्ष अगाडि नै पहिलो अन्तराष्ट्रिय गोल्डकप डोरीतान प्रतियोगिता गरिसकेको छ ।
प्रतियोगितामा नेपालको विभागीय टोली सशस्त्र प्रहरीले भारतको विहारलाई पराजित गर्दै उपाधि चुमेको थियो । विश्वकै पुरातन खेलमध्येको एक डोरीतान खेलमा दुबैतर्फबाट ८–८ जना खेलाडी सहभागी हुन्छन् । खेलको नियमअनुसार ८० फिटको डोरीलाइ दुबै तर्फबाट एक अर्काले तानेर आफ्नोतर्फ डोरी तान्न सफल हुने खेलाडीहरुले जीत हासिल गर्छन् ।
नेपालमा यो खेलको प्रवद्र्धन गर्न राष्ट्रिय खेलकुद परिषदबाट मान्यता प्राप्त, टग अफ वार अन्तराष्ट्रिय माहासंघबाट सम्बन्धन प्राप्त नेपाल डोरीतान संघ गठन गरिएको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।