विर्तामोड, १९ फागुन । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहनगर झापाको भद्रपुरबाट पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
प्रेस युनियन झापाले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा नेता सिटौलाले २०७७ फागुनमा हुने १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको हो ।
पार्टीको आमूल परिवर्तनका लागि आफ्नो उम्मेदवारी आवश्यक रहेको जिकिर गर्दै सिटौलाले शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म पार्टीको तर्फबाट आफ्नो भूमिका उल्लेखनीय रहेको दावी गर्नुभयो । पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचको भागबन्डा र गुटबन्दीले पार्टी समस्यामा परेको बताउँदै उहाँले पार्टीको एकताको लागि आफू सभापति हुनुपर्ने दावी गर्नुभयो ।
वर्तमान सरकारको संविधान विरोधी काम रोक्न सबै प्रतिपक्षी दल र भातृसङ्गठन एकजुट हुनुपर्नेमा जोड दिँदै सिटौलाले सरकारले संविधान दुरुपयोग गरिरहेको आरोप लगाउनुभयो । कुनै पार्टी र व्यक्तिका लागि संविधान संशोधन हुन नसक्ने बताउँदै उहाँले दुई वर्षको अवधिमा सरकारले कुनैपनि दुरगामी जनहितको काम नगरेको दावी गर्नुभयो ।
प्रेसको अधिकारलाई कुण्ठीत गर्न लागेको सरकारले अदालत, प्रहरी, प्रशासन संवैधानिक निकायलाई के गरिरहेको छ भन्ने सजिलै अनुमान लगाउन सकिने भन्दै सिटौलाले आफ्ना आलोचक तथा विरोधिलाई सफाया गर्ने अभियानमा सरकार लागिपरेको जिकिर गर्नुभयो । सत्तारुढ पार्टीले सुरुदेखि नै संविधानको गलत व्याख्या गर्दै आइरहेको उहाँको भनाइ छ ।