कविता

म आउँदैछु

आउँदैछु,
म फर्केर आउँदैछु
अब कहिल्यै नजानेगरी
म त्यहीँ आउँदैछुः जहाँ म थिएँ हिजो,
सप्पै छोडेर हान्निएको थिएँ परदेश
घरदेश छोडर,
थोरै समय पर्खिदिनोस् आफन्तहरु
म तपाईहरुसम्म आउँदैछु ।
…………
आमा !
तिम्रो सुस्केरा र आँसु
मेरो छाती छुन आइपुग्थे,
थोत्रो सारीको सप्कोले
आँखाको समुद्र लुकाउन खोज्थ्यौं,
तिम्रो बात्सल्यले मात्तिएर के–के न गर्छु भन्दै आएको थिएँ
अब फर्किदैछु
थोरै समय पर्खिदेऊ आमा !
म तिमीसम्म आउँदैछु ।
…………..
बा !
तिम्रो औंलाको बाटो

काँधको संसार मेरा प्रिय थिए,
कत्ती सपना थिए होला तिम्रा
एउटा न्यानो घर
चौँडा आँगन
उज्यालो मन
सुखी जीवन केकेकेके है !?
मलाई बिदा गर्ने बेलामा
कत्ती अमिलो थियौं नि तिमी,
तर, अब
म फर्किदैछु बाबा !
सम्पूर्ण धितो राखेर आफूलाई
पठाएका थियौं मलाई
मनभरी सपना बोकेर,
थोरै समय पर्खिदेउ बाबा !
म तिमीसम्म आउँदैछु ।
…………..
भाई !
मेरो अभावमा
कत्ती छट्पटिन्छस् नि तँ ?
सँगै फिर्फिरे उडाएको
चङ्गा उडाएको

खोल्सीमा पौडी खेलेको
सम्झाईरहन्थिस्,
साइन्सको विद्यार्थी तँ
ल्यापटप ल्यापटप भनिरहन्थिस्
म आफैं आउँदैछु अब
थोरै समय पर्खिदे न बहुला !
म तँसम्म आउँदैछु ।
…………..
बैनी तँ बुझ्ने भैसकिस्
आकाशमा जहाज उडेको देख्दा
म नै आएँ कि जस्तो लाग्छ है तँलाई ?
थुप्रै कमाएर
तेरो बिहे तैँले नै रोजेको, तँलाई माया गर्ने
ज्वाईँराजासँग उधुमले गरुँला भन्दै
म खाडी आएको थिएँ,
कत्ती रोइस नि भाइटीकाको दिन
हातमा सयपत्री बोकेर
थोरै समय पर्खिदे न त सानू !
म तँसम्म आउँदैछु ।
………
प्रिय जीवनी !
कत्ती रात अनिद्रामा बितायौं
कत्ती दिन आशामा बितायौं नि तिमीले
कहिल्यै नछोड्ने कसम आएको थिएँ
तिम्रो आँखामा देख्थें म
जीवनका सुन्दर सपनाहरु,
सिंगारेर तिमीलाई
अद्वितीय परी बनाउन मन थियो,
अंगालेर प्रेमले
अधरभरी चुम्न मन थियो,
थोरै समय पर्खिदेउ न त लाटी !
म तिमीसम्म आउँदैछु ।
………..
म आउँदैछु मेरा आफन्तहरु !
म आउँदैछु
हवाईजहाजले बे लगाम उडाइरहेछ
यतिबेला मलाई

म जहाजको सामान राख्ने कोठामा
एउटा सुन्दर बाकसमा सुताइएको छु ।
………………….

शुक्रबार, १६ फागुन, २०७६, बिहानको ०८:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर