इटहरी । सुनसरीको इटहरीस्थित इटहरी मोडल स्कूलले विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै वार्षिकोत्सव मनाएको छ ।
बगैचा टोल विकास समितिका अध्यक्ष सुनिल कार्की, विद्यार्थी नेता नविन कटुवाल, राष्ट्रिय खेलाडी रेखा पौडेल, प्रदेश १ मिस मंगोल उपाधि बिजेता अपेक्षा लिम्बू, निःसहाय बालबालिका अनाथ आश्रमकी संचालिका गीता गौतमलगायत पूर्वविद्यार्थीहरुलाई स्कूलले सम्मान गरेको हो ।
स्कूलले २०७५ सालको एसइइमा उत्कृष्ठ अंक ल्याउने साकेवा राई, कुमार मगराती र जेनिस श्रेष्ठलाई पनि सम्मान गरेको छ । स्कूलका भाइस प्रिन्सिपल प्रसान्त राईले स्वागत मन्तव्य दिएको कार्यक्रममा साँस्कृतिक नृत्य, नाटक तथा गीतहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा कुलत, धर्ममा अन्धभक्त हुने प्रवृत्ती र वन विनाशका विषयमा तयार गरिएको नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा इटहरी ४ का वडाध्यक्ष चन्द्र भट्टराईले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।
स्कूलका प्रिन्सिपल ज्ञानेन्द्र दाहालले विद्यालय सधै सकारात्मक र व्यवहारिक शिक्षाको पक्षमा रहेको जानकारी दिँदै त्यसको लागि सबै क्षेत्रको भुमिका र सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो । नानीहरुलाई सही बाटोमा ल्याउन र राष्ट्रको विकास गर्न संस्कार, शीप र प्रविधी नै अहिलेको आवश्यकता भएको उहाँको जोड थियो ।
कार्यक्रममा विज्ञान प्रदशर्नीसमेत गरिएको थियो । प्याब्सन सह–सचिव गणेश भण्डारी, शुष्मा गोदावरीका प्रिन्सिपल वोधराज नेपाल तथा विभिन्न स्कूलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।