विर्तामोड । झापाको कचनकवल गाउँपालिकाकी बालिकाको झुन्डिएको अवस्थामा शंकास्पद शव फेला परेको घटनाको सत्यतथ्य छानबिन गनै माग गर्दै विद्यार्थीहरुले बृहत प्रदर्शन गरेका छन् ।
विद्यार्थीहरुले शुक्रबार कचनकवल गाउँपालिका–६ स्थित बनियानी चोकमा बृहत् साङ्लो प्रदर्शन गर्दै घटनाको छानविनको माग गरेका हुन् ।
कचनकवल–२ स्थित लक्ष्मीप्रसाद देवकोटा माविमा कक्षा ६ मा अध्ययनरत १४ वर्षीया विष्णुमाया कार्कीको झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनको हत्या भएको भन्दै गाउँपालिकाका सबै विद्यालयका विद्यार्थीले न्यायका लागि दबाब दिन बृहत् साङ्लो प्रदर्शन गरेका हुन् ।
दुई हजारभन्दा बढी सहभागी विद्यार्थीहरूले हातमा हात मिलाएर साङ्लो प्रदर्शन गरेका थिए । नेपाल शिक्षक महासंघ कचनकवलको नेतृत्वमा विद्यार्थीले पथरिया बजारदेखि बनियानी चोकसम्म, पाठामारीदेखि बनियानी चोकसम्म, बालुवाडीदेखि बनियानी चेकसम्म साङ्लो प्रदर्शन गरेका थिए । घटनाको सत्यतथ्य छानबिनको माग गर्दै प्रमुखजिल्ला अधिकारीलाई ज्ञानपत्रसमेत बुझाइएको छ ।
विष्णुमायाको चिया बगानमा आत्महत्या नभई हत्या भएकाले घटनाको छानबिन गरी हत्यारालाई कानुनी दायरामा ल्याउन विद्यार्थीले माग गरेका छन् । मृतकका परिवारको आर्थिक अवस्थामा अत्यन्त कमजोर रहेकाले गाउँपालिकाभरिका सम्पूर्ण शिक्षक र विद्यार्थीले आफ्नो एक दिनको खाजा खर्च बापतको रकम जम्मा गरी पीडित परिवारलाई हस्तान्तरण गर्ने कार्यक्रमसमेत रहेको छ ।
विष्णुमायाको शव झुन्डिएको अवस्थामा फागुन ५ सोमबार बिहान स्थानीयले चिया बगानमा फेला पारेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे तथ्य बाहिर आउने जानकरी दिनुभयो ।