ठगी गर्ने विरुद्ध मुद्दा दर्ता

विराटनगर / ‘अनलाइन सपिङ’का नाममा ठगी गर्ने गिरोहका मुख्य नाइेकसहित ९ जना विरूद्ध प्रहरीले अदालतमा मुद्दा दर्ता भएको छ ।

मोरङ प्रहरीले पक्राउ गरेको ठगी गर्ने गिरोहका मुख्य नाइके मोरङ सुन्दरहरैँचा नगरपालिका– ३ का विशाल अर्याल भनिने ३६ वर्षीय निरञ्जनप्रसाद आचार्यसहित ९ जना विरूद्ध जिल्ला अदालत मोरङमा बिहीबार मुद्दा दर्ता गरेको हो ।

प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत अदालतमा ‘अपराधिक समूह स्थापना, सञ्चालन गरी ठगी, बैकिङ्ग कसुर र सरकारी दस्तखत किर्ते’ मुद्दामा पक्राउ परेका ८ जना र १ जना फरार प्रतिवादी बनाएर दर्ता भएको हो । प्रहरीले अनलाइन सपिङ्गको नाममा ठगी आरोपमा खोटाङको जन्तेढुंगा गाउँपालिका–४ का २२ वर्षीय शिवजी खड्का, २० वर्षीय देवी चौलागाई, धरान उपमहानगरपालिका– २० सुनसरीकी २० वर्षीया भावना राई, १९ वर्षीया सरिता परियार, २० वर्षीया वर्षा कार्की, २३ वर्षीया सानु गौतम र २१ वर्षीया लक्ष्मी कार्कीलाई पक्राउ गरेको थियो ।

ठगीमा संलग्न इटहरी ४ की ३० वर्षिय मधुकमाुरी आचार्यलाई फरार प्रतिवादी बनाइएको छ । पक्राउ परेका विशाल भनिने निराञ्जनप्रसाद आचार्य ठगी धन्दाका मुख्य नाइके भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । आचार्यले यही धन्दामा अन्य ७ जनालाई परिचालन गरेको खुलेको छ । तीमध्ये पनि खड्का र चौलागाईं आचार्यको विश्वासपात्र रहेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । उनीहरु विराटनगरमा ३ कोठा भाडामा लिएर बस्ने गरेका थिए ।

अन्य युवतीले भने आचार्यलाई बैंक खाता खोल्नका लागि नागरिकता दिएर ठगी धन्दामा सहयोग पु¥याएको खुलेको छ । आचार्यको ठगी गर्ने सञ्जाल भारतमा पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । आचार्यले विभिन्न बैंकमार्फत ९० लाख रुपैयाँभन्दा बढी भारतमा बसेर ठगी धन्दा चलाउनेलाई बुझाइसकेको देखिन्छ । आचार्यले पनि यो कुरा स्वीकार गरिसकेको प्रहरलिे जनाएको छ ।

ठगी गर्ने क्रममा आचार्यले २५ भन्दा बढी भारतीय र नेपाली बैंक प्रयोग गरेका छन् । आचार्यका ७८ वटा नेपाली र १७ वटा भारतीय बैंकका खाता रहेको पाइएको छ । उनले अन्य १७ जना व्यक्तिका नाममा खाता खोलेर हस्ताक्षर गर्न लगाउँदै चेक भने आफै राखेर प्रयोग गर्ने गरेको अभियोगमा उल्लेख छ ।
‘अनलाइन सपिङ’ नाममा ठगी गरिएको ६७ लाख ९९ हजार ७ सय ५० रुपैयाँ प्रहरीले उनीहरुबाट बरामद गरेको थियो ।

बिहिबार, ०८ फागुन, २०७६, साँझको ०५:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर