लासहरूको भर्‍याङमाथि कमरेड

लासहरूको भर्‍याङमाथि कमरेड

कविता

‘सत्य के हो

सुन्नुहुन्छ ?

सत्य के हो भने

पाँच हजार हत्याको जिम्मा

मलाई दिनुस् !’

 

पटकपटक दोहोर्‍यायौं कमरेड !

यो सत्य हो ।

सार्वजनिक स्थलमा

सेतो पगरी गुथेर

हत्याको जिम्मा लिँदा

तिम्रो अनुहारमा

अलिकति पनि

थिएन पश्चाताप

कमरेड !

अहँ थिएन ग्लानी

 

तिनै लासहरूको भर्‍याङ बनाएर

सत्तामा उक्लिएका

तिम्रो कति मीठो उपलब्धि

हेर त !

 

आफूमात्र उक्लेनौ

उकाल्यौ हात समातेर

छोरी

बुहारी

नातागोता

आसेपासे।

 

तिम्ले त बिर्सियौ कमरेड

तर हाम्ले सम्झिरहेछौं

झल्झली

 

बाँदरमुढेका बगरमा

यत्रतत्र मिल्किएका

झोला–जुत्तासँगै

अनगिन्ती सपनाहरू।

डाँडाकटेरीका पाखामा

रोइरहेका रगताम्मे रहरहरू

मुक्तिनाथ

मैना सुनार

र, बाबुराम तामाङहरू ।

 

त्यो कहालीलाग्दो अँध्यारो

दस वर्षपछि

पक्कै घाम लाग्नेछ

उज्यालो

तर, हामी त

भ्रममा रहेछौं कमरेड !

तिम्लाई धन्दा खरबको

हाम्लाई त

छिमेकी अरबको

तिम्लाई सत्ताकै हतार

हाम्लाई त

उही मलेसिया र कतार।

 

कठै,

जनता सधैं दुःखमा

अनि हत्या अभियोग लागेका

तिम्रा हितैषी

सभामुखमा?

बधाई छ

चरितार्थ गरिदियौ

सत्ताको शक्ति

 

सानालाई ऐन, ठूलालाई चैन।

तिमी दोषी थियौं–छौ

यहाँका न्यायाधीशमा

हिम्मत कहाँ कमरेड !

 

जनताको मुखमा ताला लगाएर

तिमीहरू निर्बाध हाँसिरहेछौ

खित्का छाडेर।

 

लागिरहेछ

हामी बाँचेको युग

हिरण्यकश्यपुको युग

हो, हिरण्यकश्यपुको युग

त्यसैले

अब पर्खिरहेछ देशले

नरसिंह अवतार।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्