नेपालको अढाई सय वर्ष पुरानो राजतन्त्रात्मक ब्यवस्था बिरुद्ध एक दशकसम्म लाखौं जनतालाई संगठित र ब्यवस्थित बिद्रोहमा सामेल गराएको राजनीतिक आन्दोलन यहि फेब्रुअरी १३ देखि २५ औ हेमन्तमा प्रवेश गरेको छ । आफैमा यो आन्दोलनको जीवन अहिले हेमन्त ऋतुको हिउ सोहोर्दै छ वा शरद ऋतुको सिरेटो व्यहोर्दै छ तर केहि थान नेताहरुको जीवनमा भने बसन्त बहार आएको चाही धुर्ब सत्य हो । यो पंतिकारले आफ्नो जीवनका पुरै दुइ दशक स्वोयाम्सेवी रुपमा यो आन्दोलनभित्र बिताएकाले आफ्ना केहि बिचारहरु यहाँ लेख्दै छु ।
१९९६ फेब्रुअरी १३ लाई आरम्भ बिन्दु मानिएको राजतन्त्र बिरुद्धको नेपाली कान्छो सशस्त्र बिद्रोहले पुरानो ब्यवस्थाको अन्तिम मेरुदण्ड करिब एक लाख सेना बिरुद्ध एक चौथाई सेना निर्माण गरेको इतिहासको तथ्य हो । देशका नब्बे प्रतिशत भूभागमा नयाँ सत्ताका भ्रुणहरु जन्माएको अर्को तथ्य हो । राजनीतिक तथा फौजी रुपमा पुरानो सत्तालाई हायलकायल पारेको पनि सत्य हो । सुदुर कर्णालीको अनपढ युवा सुदुर पूर्वको सामरिक नक्शा कोर्दै फौजी श्रेष्ठता कायम गरेको र देशका हजारौ फौजी ठेगानाहरुमा निर्मम हमला गरेको पनि सत्य हो । तर, २५ वर्ष लाग्दै गर्दा के यी सत्यहरु सपना जस्ता लाग्दैनन् ? र, केहि थान नेताहरु र तीनका परिवार वा भजनमण्डली नयाँ सत्ताका मसिहा भएको मात्रै धुर्ब सत्य हो जस्तो लाग्दैन ?
संबिधानसभाबाट नयाँ संबिधान निर्माण भएको र पुरानो ब्यवस्था आर्यघाटमा सेलाइएको सत्य हो । तर, केन्द्रदेखि गाउँगाउँ पुगेको सिंहदरबारमा जनताबाट चुनिएका भनिएकाहरु नेपालका अन्तिम राजा जस्तै ब्यापारी र ठेकेदार भएको सत्य स्थापित हुन खोज्दैछ । के एउटा ब्यापारी र ठेकेदार राजा फालेर सैयांै राजाहरुलाई पुनस्र्थापित गर्न लाखौं जनताले आफ्नो आशु, पसिना र बलिदानी गरेका थिए ? के समाजवाद ठेक्कापट्टा, कमिशन र भ्रष्टाचारको बाटो हुदै आउने हो ? र ,बैधानिक रुपमा नियुक्त भएका केन्द्रदेखि गाउँसम्मका राजाहरुको लागि आएको वा आउँदै गरेको समाजवादलाई आन्दोलनमा इमान्दार र क्रान्तिकारीहरुले काँध थामिदिनु पर्ने ठिक हो ? अथवा तिनलाई चुच्चे टोपी लगिदिन सल्लाह गर्नु अहिलेको सत्य होइन र ?
नेपाली जनयुद्धको २५ औं वर्षगाँठको स्मरण गरिरहदा फागुन १ लाई सकभर बिर्सन खोज्ने नेतृत्वको इरादा, बेपत्ता हाम्रा पत्रकार मिलन नेपालीलगायत हजारौ असल नागरिकलाई बिर्सन खोज्ने होइन र ? बेपत्ता बनाउनेहरुलाई उन्मुक्ति, बढुवा र पुरस्कृत गर्न लाखौं घडी र पला जाग्राम हुने नेताहरु बेपत्ता हाम्रा प्रिय कमरेडहरुको खोजिको लागि बिनय गर्दा किन सुतिरहेका होलान ? के यिनले फागुन १ सम्झिरहेका होलान् ? सत्य के हो ? बेपत्ता योद्धाहरुको लास र सास नभेटिनु सत्य हो कि बेपत्ता गर्नेहरुका पक्षमा सास नफेरी लाग्नु सत्य हो ? के संक्रमणकालीन न्यायको कुनै गुन्जायस छ ? पीडितलाई प्रलोभन वा डर धम्की होइन, न्यायको बाटोका पक्षमा वकालत गर्नु कर्तब्य हो वा अन्याय गर्नेहरुको शासन, ब्यापार र फुल्ली थप्न रबरस्ट्याम्प बनेर उनीहरुसँग लगनगाठो जोड्नु २५ भित्रैको क्रान्तिकारी छलांग हो ? (ओ) प्रिय सत्तासीन कमरेड यो गर्न तिम्रा हातहरु काम्दैनन् ? फागुन १ तिमीले इतिहासको गौरवशाली दिन थियो भन्ने बिर्सिसकेको सत्य प्रमाण यही होइन र ?
यसै फागुनमा तत्कालिन राज्यले हत्या गरेका १४ वर्षका दिलबहादुर रम्तेल अहिले चालिसको फेरोमा लाग्थे र उनीपछि क्रमश पछिल्लो मितिमा लगातार १० वर्षसम्म मारिएका र जनताको ब्यबस्थाका लागि बिरतापूर्वक मृत्यु स्वीकार गरेका १४ हजार सुन्दर जीवनहरुको बलिदानमाथि नैतिकहीन राजनीति गर्नुभन्दा सहिदको रगत पोखिएको माटो छोएर नैतिकहीनहरुको भण्डाफोर गर्नु सत्यको पक्ष लिनु हो । सहिदको बलिदानीबाट आएको र ल्याएको सार्वभौम संसदमा राजतन्त्रको कुडा कर्कटलाई उनीहरुको डाकागिरी र हत्या हिंसाको पुरस्कार स्वरुप भब्य सपथग्रहण गराउनु रातो गलैचा कुल्चिदै प्रतिक्रान्ति आँगनमा आइपुग्नु होइन र ? प्रतिक्रान्तिलाई रातो गलैचाको बाटो हुँदै स्वागत गर्ने तर क्रान्तिकारीहरु बाध्यताले देश निकाला भएकोमा क्रिसमस केक काट्नेहरुबाट पछिल्लो क्रान्तिका उपलब्धिहरु अपहरित भएका छन् । के ति अपहरणकर्ताहरु बिरुद्ध बोल्नु यो युगको आवश्यकता होइन ? फागुन १ वा फेब्रुअरी १३ को सन्देश यो २५ वर्षपछि पनि यहि हो कि क्रान्तिका अपहरणकर्ताहरु बिरुद्ध निरन्तर आवाज जारि राखौ । शान्ति र न्यायको पक्षको हाम्रो आवाजले उनीहरुको स्वोर्गमा खैलाबैला मच्चिन्छ भने दुन्दुभी अझै जारि राखौ । के यो अहिलेको सत्य यहि होइन र ?
आन्दोलनको फुट र विभाजन गर्दै अप्राकृतिक एकतामा रमाउने र नयाँ संकरणको राजतन्त्र बिरुद्ध आवाज उठाउनेलाई अझै पनि जेलमा कोच्ने प्रचलनलाई बैधानिक बनाइएको छ । अन्याय, भ्रष्टाचार र अशान्तिका बिरुद्ध शान्ति, न्याय र शिष्टाचारमार्फत अपुरा राजनीतिक मुद्दाहरु लागि आवाज उठाउनेहरुको निवास जेल नै हो भने त्यो सत्य स्वीकार गर्न अर्को पुस्ता जन्मनु अनिवार्य छ । प्रिय सतासीन लाल मित्रहरु ! तिमी बन्दुकले होइन विवेकले शासित छौ भने र राजनीतिक नैतिकताको झिनो अंश बाँकी छ भने अघिल्लो राजतन्त्रदेखि पछिल्लो तिम्रो राजतन्त्रसम्मका सबै झुठ्ठा मुद्दा अगेँनामा जलाउ र फागुन १ मा निसर्त आममाफीसहित शान्तिका परेवा गणतन्त्रको निल गगनमा उड्नदेऊ ।
सलाम
महान् नेपाली जनता
उसको अदम्य साहसको बिद्रोह
जो महान थियो,
रहिरहने छ, यो ‘प्लानेट’ रहेसम्म ।
तिमीले,
क्रान्तिकारीका हत्याराहरुसँग
रोज ‘रोज’ साटिरहँदा
र, उनीहरुसँगै प्रेम गर्ने ‘प्रपोज’ दोहो¥याउँदै गर्दा
हामी भने बिर्सने छैनौं
फेब्रुअरी १३ को आँधिहुरी,
तर, बरु बिर्सनेछौं १४ को भ्यालेन्टाइन ।