भोजपुर । केही वर्षअघिसम्म तीव्र बसाइँसराइ, युवा पलायन र कृषिप्रतिको घट्दो आकर्षणका कारण भोजपुरका ग्रामीण बस्तीहरू सुनसान बन्दै गएका थिए। खेतीयोग्य जमिन बाँझिँदै गएका थिए भने अधिकांश गाउँमा वृद्धवृद्धा मात्र बसोबास गर्ने अवस्था थियो। तर पछिल्ला वर्षहरूमा अकबरे खुर्सानीको व्यावसायिक खेतीले जिल्लाको आर्थिक र सामाजिक चित्र नै बदल्न थालेको छ।
कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवा तथा स्वदेशमै केही गर्ने सोच बनाएका परिवारहरूको सक्रियताले रैथाने जमिनमा पुनः हरियाली फर्किएको छ। विशेषगरी पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका र भोजपुर नगरपालिकाका विभिन्न वडामा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार हुँदै गएको छ।
धान, मकै र कोदो जस्ता परम्परागत बालीबाट पर्याप्त आम्दानी नहुने र जङ्गली जनावरले बाली नष्ट गर्ने समस्याबाट हैरान भएका किसानका लागि अकबरे खुर्सानी भरपर्दो नगदेबाली बनेको छ। रोपेको तीन महिनाभित्रै उत्पादन दिन सुरु गर्ने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका छन्।
यो परिवर्तनको नेतृत्व युवा उद्यमी जीवन राउतले गरेका छन्। कोभिडअघि ट्राभल व्यवसायमा संलग्न रहेका राउत महामारीपछि गाउँ फर्किएर अकबरे खेतीलाई व्यावसायिक रूप दिन लागेका थिए। उनले स्थापना गरेको जेबी एग्रो फर्मले किसानलाई गुणस्तरीय बीउ उपलब्ध गराउनुका साथै उत्पादित खुर्सानीको बजारीकरणको जिम्मेवारी पनि सम्हालिरहेको छ।
पहिले मकै र कोदो लगाएर सामान्य घरखर्च चलाउने जमिनबाट अहिले किसानले लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन्। खुकुरीका लागि परिचित भोजपुर अहिले ‘अकबरे हब’का रूपमा नयाँ पहिचान स्थापित गर्ने दिशामा अघि बढिरहेको छ।
हाल जिल्लाका करिब तीन हजार पाँच सयभन्दा बढी परिवार अकबरे खुर्सानीको व्यावसायिक खेतीमा प्रत्यक्ष रूपमा आबद्ध छन्। कतिपय किसानले १०० रोपनीसम्म क्षेत्रफलमा खेती विस्तार गरेका छन्। जिल्लाबाट वार्षिक २५० देखि ३०० टनसम्म अकबरे खुर्सानी उत्पादन हुने अनुमान गरिएको छ।
उत्पादित खुर्सानी स्वदेशका चाउचाउ तथा अचार उद्योगमा मात्र नभई बेलायत, अमेरिका, क्यानडा र भारतसम्म निर्यात हुन थालेको छ। यसले स्थानीय कृषिलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने आधार तयार गरेको छ।
यद्यपि उत्पादन बढेसँगै बजार मूल्यमा उतारचढाव र भण्डारण सुविधाको अभाव भने किसानका लागि चुनौती बनेको छ। कुनै समय प्रतिकिलो ४०० रुपैयाँसम्म पुगेको अकबरे खुर्सानीको मूल्य हाल उत्पादन वृद्धि भएपछि १५० देखि १६० रुपैयाँमा झरेको छ।
यस समस्याको दीर्घकालीन समाधानका लागि जीवन राउतले गाउँमै पाउडर उद्योग र अत्याधुनिक शीतभण्डार स्थापना गर्ने योजना अघि सारेका छन्। यसबाट भदौ–असोजमा उत्पादन भएको खुर्सानीलाई पुस–माघमा बेमौसमी समयमा बिक्री गरेर राम्रो मूल्य प्राप्त गर्न सकिने उनको विश्वास छ।
अकबरे खेतीको सफलतापछि राउतले कृषि प्रणालीलाई थप विविधीकरण गर्ने योजना पनि अघि बढाएका छन्। उनले १०० रोपनी क्षेत्रफलमा २० हजार बिरुवासहित ड्रागन फ्रुट खेती, कागती, अदुवा तथा उन्नत पशुपालनको तयारी सुरु गरिसकेका छन्।
अकबरे खुर्सानीको व्यावसायिक विस्तारले भोजपुरका गाउँमा आर्थिक समृद्धि मात्र ल्याएको छैन, रित्तिँदै गएका बस्तीमा युवाहरू फर्काउने वातावरण सिर्जना गर्दै सकारात्मक सामाजिक रूपान्तरणको नयाँ अध्यायसमेत सुरु गरेको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।