लोड हुँदैछ...

मेनु

‘मिस्टर धरान’को २३औँ संस्करण असोजमा

‘मिस्टर धरान’को २३औँ संस्करण असोजमा

धरान । शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर धरान’को २३औँ संस्करण आगामी असोज २३ र २४ गते आयोजना हुने भएको छ। प्रतियोगिताका विजेताले यस वर्ष २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

एमडी–१६ स्टुडियो फिटनेस धरानले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सदन स्कुल हल र दशहरा हलमा प्रतियोगिता सञ्चालन गरिने जनाएको हो।

प्रतियोगिता ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी तथा ७० केजीभन्दा माथि गरी पाँच तौल समूहमा सञ्चालन हुनेछ। विभिन्न समूहका उत्कृष्ट खेलाडीहरूबीच समग्र उपाधिका लागि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।

प्रतियोगितामा उपविजेताले १ लाख रुपैयाँ, तेस्रो हुनेले ७० हजार रुपैयाँ, चौथो हुनेले ३० हजार रुपैयाँ र पाँचौँ हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै ‘बेस्ट पोज’ र ‘मोस्ट मस्कुलर’ विधाका उत्कृष्ट खेलाडीलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिनेछ।

धरानमा लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगितालाई शारीरिक सुगठन खेलको विकास, वैज्ञानिक प्रशिक्षण प्रणालीको प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार खेलाडी उत्पादन गर्ने उद्देश्यसहित निरन्तरता दिइएको आयोजकको भनाइ छ।

यस वर्ष खेलकुद पत्रकारितामार्फत शारीरिक सुगठन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने एक पत्रकारलाई नगद १० हजार रुपैयाँसहित ‘एमडी–१६ पत्रकारिता पुरस्कार’ प्रदान गरिने घोषणा पनि गरिएको छ।

प्रतियोगिता एमडी–१६ स्टुडियो फिटनेस धरानको आयोजनामा, धरान उपमहानगरपालिकाको सहयोग तथा बडी बिल्डिङ सङ्घ सुनसरीको समन्वयमा सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।