लोड हुँदैछ...

मेनु

ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवार सम्मानित

ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवार सम्मानित

इटहरी । कर्तव्य पालनाको क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी बल नम्बर ४ गण सुनसरीको १९ औँ वार्षिक उत्सवको अवसरमा उनीहरूलाई नगदसहित सम्मान गरिएको हो ।

सम्मानित हुनेमा देवानगञ्ज गाउँपालिका–५ साहेवगञ्ज निवासी कञ्चनदेवी यादव रहेकी छन् । उनी स्वर्गीय सशस्त्र प्रहरी सहायक हवलदार विनोदकुमार यादवकी धर्मपत्नी हुन् ।

यादवले २०६१ फागुन ३२ गते बाँकेको खैरिखोलामा तत्कालीन द्वन्द्वका क्रममा भएको दोहोरो भिडन्तमा वीरगति प्राप्त गरेका थिए । त्यस्तै, इटहरी उपमहानगरपालिका–५ निवासी शारदा अधिकारी खड्कालाई पनि सम्मान गरिएको छ । उनी स्वर्गीय विष्णु खड्काकी धर्मपत्नी हुन् । खड्काको २०६१ असार २० गते दाङको धनौलीमा तत्कालीन द्वन्द्वका क्रममा भएको भिडन्तमा निधन भएको थियो ।

यसैगरी, इटहरी निवासी कमल सुब्बालाई पनि सम्मान गरिएको छ । उनी स्वर्गीय हरिमान लिम्बुका बुबा हुन् । हरिमान लिम्बुले बाजुराको तत्कालीन बुढीनन्दा गाविस–७ पाण्डुसेन क्षेत्रमा माओवादी विद्रोहीसँगको भिडन्तमा बहादुरीपूर्वक प्रतिकार गर्दै वीरगति प्राप्त गरेका थिए ।

रामधुनी नगरपालिका–८ निवासी काशीराम चौधरी पनि सम्मानित भएका छन् । उनी स्वर्गीय सशस्त्र प्रहरी अचलाल चौधरीका बुबा हुन् । अचलालले नुवाकोटको शिवपुरी गाउँपालिका–८ क्षेत्रमा माओवादी विद्रोहीसँगको दोहोरो भिडन्तमा वीरगति प्राप्त गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापा र गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई समेत पुरस्कृत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।