विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकप्रियतावादको नाममा भइरहेका गतिविधिले मुलुकले प्राप्त गरेका राजनीतिक उपलब्धिहरूमाथि गम्भीर प्रहार भइरहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो चेतावनी दिएका हुन् ।
सम्बोधनका क्रममा मुख्यमन्त्री कार्कीले भने ‘लोकप्रियतावादको नाममा अहिले भएका कतिपय गतिविधिले हामीले प्राप्त गरेका उपलब्धिहरू माथि गम्भीर प्रहार भइरहेका छन् । यसले हाम्रो स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई पनि कमजोर पार्ने प्रयासहरू भइरहेका छन् । यसप्रति हामी सबै परिवर्तनकामी राजनीतिक दल र नेताहरू सचेत र संगठित छौँ ।’
मुख्यमन्त्री कार्कीले सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे । । उनले संविधानले प्रत्याभूत गरेका नागरिक अधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर पार्ने कुनै पनि प्रयास सफल हुन नदिने दृढता व्यक्त गरे । ‘इतिहास र संघर्षलाई भुलेर हामी सही गन्तव्यमा पुग्न सक्दैनौँ, त्यसैले प्राप्त उपलब्धिलाई संस्थागत गर्नु आजको आवश्यकता हो,’ उनले भने ।
समारोहमा मुख्यमन्त्रीले आजै परेको सगरमाथा दिवसको सन्दर्भ जोड्दै सगरमाथा नेपालको विश्वव्यापी पहिचान र गौरव भएको बताए । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको सम्झना गर्दै उनले पर्वतारोहीहरू प्रति सम्मान व्यक्त गरे । साथै, जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएका चुनौतीहरू सामना गर्न प्रदेश सरकार विश्व समुदायसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।
कोसी प्रदेश सरकारको आयोजनामा विराटनगरको जिल्ला प्रशासन कार्यालय अगाडिबाट शुरू भएको र्याली बजार परिक्रमा गरि विरेन्द्र सभागृहमा पुगेर मूल समारोहमा परिणत भएको थियो। कार्यक्रममा सहभागी ११ वटा झाँकीलाइ सम्मान गरिएको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।