लोड हुँदैछ...

मेनु

संघीयतामा स्थानीय सरकारको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

संघीयतामा स्थानीय सरकारको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल

इटहरी । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक र गहन रहने बताएका छन् ।

सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित ‘लौकही सिटी हल’ उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताका आधारभूत आवश्यकता र जनचाहनाअनुसार विकासका कामलाई तीव्रता दिन स्थानीय तह सक्रिय हुनुपर्नेमा जोड दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्शअनुसार काम गर्दै शान्ति, विकास र सुशासनमार्फत जनताको हित सुनिश्चित गर्नुपर्ने पौडेलको भनाइ छ । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले प्रभावकारी सेवा प्रवाह, सुविधा विस्तार र विकास निर्माणका कार्य सञ्चालन गर्नु मुख्य दायित्व भएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले ग्रामीण क्षेत्रमा आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै यसले तीनै तहका सरकारबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । सम्बोधनका क्रममा उनले सप्तकोशी नदी आसपासको ऐतिहासिक तथा धार्मिक महत्वबारे पनि चर्चा गरे । कुशाहाघाटलाई प्रजातान्त्रिक आन्दोलनसँग जोडिएको ऐतिहासिक स्थलका रूपमा उल्लेख गर्दै उनले बराहक्षेत्र, रामधुनी, पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा जस्ता धार्मिक स्थलको पर्यटन प्रवर्द्धन गर्न आग्रह गरे ।

वि.सं. २०६५ सालमा कोशी बाँध फुट्दा प्रभावित बनेको क्षेत्र अहिले पुनः विकासतर्फ अघि बढेको देख्दा खुशी लागेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले बाढी तथा विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।