दमक । ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्काको आत्महत्या प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित चार जना उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी दर्ता भएको छ ।
झापाको दमक नगरपालिका ८ लक्ष्मीमार्ग निवासी ४२ वर्षीय खड्का सोमबार साँझ आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार उनी घरको कोठाभित्र सिलिङ फ्यानको फलामे हुकमा प्लास्टिकको डोरी प्रयोग गरी झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
आत्महत्याअघि खड्काले सामाजिक सञ्जाल फेसबुकमा बैंकका चार जना उच्च अधिकारीको सामूहिक तस्वीर सार्वजनिक गर्दै आफू मानसिक दबाबमा परेको र चरम निर्णय लिन बाध्य भएको आशय व्यक्त गरेका थिए । मृतकका परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी, डेपुटी सीईओ सुमन पोखरेल, उपमहाप्रबन्धक दीपचन्द्र रेग्मी र मानव संशाधन विभाग प्रमुख अनामिका कुँवर सिंहविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् ।
प्रहरीले जाहेरी दर्ता भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । इलाका प्रहरी कार्यालय दमक स्रोतका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक सामग्री, कार्यालयको कार्य वातावरण, मृतकले भोगेको भनिएको मानसिक दबाब तथा परिवारजनको बयानका आधारमा अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार खड्का ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा कार्यरत थिए । साँझ करिब ५ बजेतिर उनी आफ्नै घरको भुइँतलाको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी मृतकका बुवा महेश खड्काले प्रहरीलाई दिएका थिए ।
सूचना पाएपछि प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा पुगेको टोलीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको छ । शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको वडा अध्यक्ष धर्मप्रसाद दाहालले जानकारी दिए ।
घटनापछि मृतकका आफन्त र स्थानीयवासी आक्रोशित बनेका छन् । आरोपितहरूलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि नबढाइएसम्म शव नबुझ्ने अडान परिवारले लिएको बताइएको छ ।
जाहेरीमा नाम उल्लेख भएका व्यक्तिमध्ये बैंकका सीईओ रेग्मी हाल नेपालबाहिर छन् । अन्य अधिकारीसँग बयान तथा सोधपुछको तयारी भइरहेको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्न उक्साउने, निरन्तर मानसिक यातना दिने वा त्यसतर्फ प्रेरित गर्ने गतिविधि प्रमाणित भए आत्महत्या दुरुत्साहनअन्तर्गत फौजदारी अभियोग लाग्न सक्ने कानुनी व्यवस्था छ । घटनाबारे ग्लोबल आइएमई बैंकले भने हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।