लोड हुँदैछ...

मेनु

झापा मोरङ र उदयपुरमा रास्वपाको क्लिन स्वीप’

झापा मोरङ र उदयपुरमा रास्वपाको क्लिन स्वीप’

विराटनगर । नेपाली राजनीतिको केन्द्रविन्दु मानिने कोशी प्रदेशको चुनावी नतिजाले यतिबेला सिंगो मुलुकलाई स्तब्ध बनाएको छ । दशकौंदेखि पुराना दलहरूको ’बिर्ता’ जस्तै मानिएका झापा, मोरङ र उदयपुर जिल्लाहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस्तो शक्तिशाली प्रहार गरेको छ ।

झापाका ५, मोरङका ६ र उदयपुरका २ गरी कुल १३ वटा क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गरेपछि नेपालको परम्परागत राजनीतिको साख बालुवाको घर जस्तै ढलेको छ । जनताले यसपटक अनुहार होइन, एजेन्डा र परिवर्तनलाई रोजेका छन् । जसको परिणामस्वरुप पूर्वका यी तीन जिल्लाका सबै सिटमा घन्टीले सानदार विजय हासिल गरेको छ ।

सबैभन्दा ठूलो र रोचक उथलपुथल झापा जिल्लामा देखिएको छ । झापा ५, जहाँबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षौंदेखि राज गर्दै आएका थिए । त्यहाँ रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले ओलीसँगको भिडन्तमा ऐतिहासिक रेकर्ड कायम गरेका छन् । बालेनले ६८ हजार ३४८ मत ल्याएर विजयी हुँदा पूर्वप्रधानमन्त्री ओली १८ हजार ७३४ मतमा सीमित हुनुप¥यो । झापाका मतदाताले यसपटक ‘हेभीवेट’ को ट्यागलाई पूर्ण रूपमा अस्वीकार गरिदिएका छन् । झापा ३ मा पनि उस्तै नतिजा आएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई रास्वपाका प्रकाश पाठकले धुलो चटाएका छन् । पाठकले ३८ हजार ६७४ मत ल्याउँदा लिङ्देन १७ हजार २९४ मतमा खुम्चिए । त्यस्तै, झापा २ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले ६० हजार ११० मतका साथ सानदार जित दर्ता गर्दा पूर्वसभामुख देवराज घिमिरे ११ हजार ३६८ मतमा रोकिनु पर्यो । झापा १ मा रास्वपाकी निशा डाँगीले ४५ हजार ६८० मत ल्याएर कांग्रेसका केशवराज पाण्डेलाई स्तब्ध बनाइन् । झापा ४ मा पनि शम्भु प्रसाद ढकालले ४३ हजार ६३१ मत ल्याएर एमालेका एलपी सावालाई पराजित गरे । यसअघि विश्वप्रकाश शर्मा, केपी ओली र राजेन्द्र लिङ्देन जस्ता नेताहरूले राज गरेको झापा अब पूर्ण रूपमा ‘घन्टीमय’ बनेको छ ।

मोरङ जिल्लाको नतिजा झन् रोचक र अप्रत्याशित देखिएको छ । मोरङका ६ वटै क्षेत्रमा रास्वपाले क्लिन स्वीप गर्दै कांग्रेस र एमालेको संगठनलाई तहसनहस बनाइदिएको छ । मोरङ १ मा यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतका साथ निर्वाचित हुँदा श्रम संस्कृति पार्टीकी शान्ति पाख्रीन लामा १७ हजार ५२२ मतमा रोकिइन् । यहाँ कांग्रेस र एमाले जस्ता ठूला दल तेस्रो र चौथो भए ।
मोरङ २ मा रास्वपाका कृष्ण कार्की ४० हजार ९२५ मतसहित विजयी भए भने एमालेका दिलीप अग्रवाल १५ हजार ६२४ मतमा सीमित भए । क्षेत्र नम्बर ३ मा पनि रास्वपाको लहरलाई कसैले रोक्न सकेन । यहाँ गणेश कार्कीले ३६ हजार ९२४ मत ल्याएर कांग्रेसका नेता डा. सुनिल शर्मालाई पराजित गरे । शर्माले २४ हजार ३५४ मत ल्याए पनि कार्कीको लहरसामु उनको केही जोर चलेन । मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशीले ४० हजार ८३३ मत ल्याएर कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई १२ हजार ८१८ मतमा थन्क्याइदिए । मोरङ ५ मा आशा झाले ३० हजार ४३४ मत ल्याएर कांग्रेसका फूलकुमार लालवानीलाई पराजित गरिन् । यहाँ अघिल्लो चुनावका विजेता योगेन्द्र मण्डलले आफैँ पार्टी खोलेर निर्वाचनमा होमिए पनि उनी ४ हजार १९९ मतका साथ छैटौँ स्थानमा पुगे । मोरङ ६ मा काग्रेसका डा.शेखर कोइराला पराजित भएका छन् । यो क्षेत्रबाट रास्वपाकै रुविना आचार्य निर्वाचित भइन् ।

उदयपुर जिल्लाले पनि परिवर्तनको पक्षमा स्पष्ट उभिएर रास्वपालाई नै रोजेको छ । उदयपुर क्षेत्र नम्बर १ मा पारश मणि गेलालले ३० हजार ५९० मत प्राप्त गरी सानदार जित हासिल गरे । उनले श्रम संस्कृर्ति पाटीका राजेश कुमार राईलाई भारी मतान्तरले पराजित गरे । त्यस्तै, क्षेत्र नम्बर २ मा सूर्य बहादुर तामाङ १४ हजार ८०२ मतका साथ निर्वाचित भए भने एमालेका अम्बर बहादुर रायमाझी ७ हजार ६८४ मतमा रोकिए । उदयपुरका दुवै सिटमा घन्टी बजेको छ । विगतमा एमाले र कांग्रेसका किल्ला मानिने यी क्षेत्रहरूमा रास्वपाको प्रवेशले पुराना दलका नेताहरूमा सन्नाटा छाएको छ ।

झापा, मोरङ र उदयपुरका मतदाताले स्पष्ट पारेका छन् कि अब उनीहरूलाई पुराना आश्वासन र भाषणले पुग्दैन । जनताले विकास, सुशासन र नयाँ अनुहार चाहेका थिए, जुन उनीहरूले रास्वपामा पाए । केपी ओली, राजेन्द्र लिङ्देन, विश्वप्रकाश शर्मा र शेखर कोइराला जस्ता राष्ट्रिय स्तरका हस्तीहरूले आफ्नै गृहजिल्ला र क्षेत्रमा बेहोरेको यो हारले नेपालको राजनीति अब ’डेलिभरी’ र ’भिजन’ को आधारमा चल्ने संकेत दिएको छ यि तिन जिल्लामा ी १३ वटा क्षेत्रमा रास्वपाले गरेको क्लिन स्वीप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।