लोड हुँदैछ...

मेनु

पिआर विवादपछि आशिका तामाङ उम्मेदवारी फिर्ता लिने प्रक्रियामा

पिआर विवादपछि आशिका तामाङ उम्मेदवारी फिर्ता लिने प्रक्रियामा

धादिङ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की धादिङ–१ की उम्मेदवार आशिका तामाङले उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गरेकी छन् ।

उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । सोही अवधिमा तामाङले फोन र इमेलमार्फत आफ्नो उम्मेदवारी फिर्ता गर्ने जानकारी दिएको निर्वाचन अधिकृत एकराज अधिकारीले बताए ।

‘उहाँले उम्मेदवारी फिर्ता गर्छु भनेर फोन गर्नुभएको छ । त्यसको पुष्टि हुने गरी इमेल पनि पठाउनुभएको छ,’ अधिकारीले भने, ‘त्यसलाई हामीले सूचनाका रूपमा लिएका छौं । तर, औपचारिक निर्णय हुन बाँकी छ ।’ उनका अनुसार तामाङ स्वयं कार्यालयमा उपस्थित भएर प्रक्रिया पूरा गर्ने तयारीमा छन् ।

तामाङले प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को अनुसूची–२२ अन्तर्गतको फारम भरी इमेलमार्फत उम्मेदवारी फिर्ताको सूचना दिएकी हुन् । इमेलमा उनले उम्मेदवारको सूचीमा आफ्नो नाम समावेश भएकाले हाल उम्मेदवार बन्ने इच्छा नभएको उल्लेख गर्दै दफा २५ (१)बमोजिम राजीखुसी नाम फिर्ता गर्ने जानकारी गराएकी छन् ।

यस विषयमा प्रतिक्रिया दिँदै आशिका तामाङले अहिले पनि आन्तरिक छलफल भइरहेको बताइन् । ‘अहिले छलफलमै छु, केही बेरमा निर्णय हुन्छ,’ उनले भनिन् ।

यसअघि तामाङको जर्मनीको स्थायी आवासीय अनुमति–पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् । सोही विवादका कारण उम्मेदवारी फिर्ता लिएको हो भन्ने प्रश्नमा उनले त्यसलाई अस्वीकार गर्दै भनिन्, ‘त्यसकारणले मैले फिर्ता लिन लागेकी होइन।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।