लोड हुँदैछ...

मेनु

धरानमा शैक्षिक भ्रमण आएको विद्यालयको बस दुर्घटना, ४ जनाको मृत्यु, १७ घाइते

धरानमा शैक्षिक भ्रमण आएको विद्यालयको बस दुर्घटना, ४ जनाको मृत्यु, १७ घाइते

विराटनगर । जनकपुरबाट धरानको भेडेटारमा शैक्षिक भ्रमणका लागि आएको एक निजी विद्यालयको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

आइतबार दिउँसो करिब ४ बजेर १० मिनेट जाँदा धरानको जिरो प्वाइन्टमा जनकपुरस्थित इन्टरनेशनल टेम्स एकेडेमीको को १ ख ७११९ नम्बरको बस दुर्घटनामा परेको हो । सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) चन्द्र खड्काका अनुसार भेडेटार घुमेर फर्कने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

खड्काका अनुसार उक्त बसमा विद्यार्थी नभई विद्यालयका शिक्षक तथा कर्मचारीहरू सवार थिए । जिरो प्वाइन्टमा एउटा स्कुटरलाई बचाउने क्रममा वा अनियन्त्रित भई बस सडक छेउको एक मेडिकल पसलमा ठोकिएको र त्यसपछि सडकमा पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । दुर्घटनामा स्कुटरमा पनि क्षति पुगेको छ ।

दुर्घटनामा ४ जनाको मृत्यु भएको खड्काले पुष्टि गरे । यस्तै, घाइते १७ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पुर्‍याइएको छ । घाइतेमध्ये धरान–१३ की यशोदा श्रेष्ठको पहिचान खुलेको छ भने अन्यको विवरण संकलन भइरहेको छ ।

प्रहरी प्रवक्ता खड्काका अनुसार बस चालकको अवस्था र पहिचानबारे हाल अस्पतालमा बुझ्ने कार्य भइरहेको छ । घटनास्थलमा प्रहरीले उद्धार कार्य जारी राखेको छ ।

फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds