काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यू–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरेको छ। एन्फाका महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
श्रेष्ठको नेतृत्वमा नेपाली टोलीले आगामी १५ माघदेखि पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुन लागेको यो प्रतियोगिता घरेलु मैदानमा हुन लागेकाले यसलाई महत्त्वपूर्ण मानिएको छ।
मुख्य प्रशिक्षक नियुक्त भएका श्रेष्ठसँग फुटबल प्रशिक्षणको लामो अनुभव छ। उनले पछिल्लो समय ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका थिए। यसअघि उनले मनाङ मर्स्याङ्दी, हिमालयन शेर्पा, नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइजी पोखरा थन्डर्स र भुटानी क्लब फुएन्सोलिङ हिरोज एफसीलाई पनि प्रशिक्षण दिइसकेका छन्।
यसैगरी, एन्फाले राष्ट्रिय यू–१९ महिला टोलीको गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी राजुसिंह महर्जनलाई सुम्पेको छ। श्रेष्ठ र महर्जनको जोडीले आगामी माघमा हुने साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई प्रशिक्षण दिनेछन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।