काठमाडौं । आगामी २१ फागुनका लागि तय गरिएको निर्वाचन सम्पन्न गर्न अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक सक्रियता तीव्र बनाएकि छिन्। निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूसँग विश्वासको वातावरण निर्माण गर्न प्रधानमन्त्री कार्कीले शनिबार तीन ठूला दलका शीर्ष नेताहरूलाई बालुवाटारमा छलफलका लागि बोलाएकि छिन् ।
चुनावी तयारीका सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूलाई बालुवाटारमा निम्तो दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यसअघि शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले तीनवटै ठूला दलका नेताहरूको निवासमा पुगेर भेटवार्ता गरेका थिए । मन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी निर्वाचनका विषयमा संवाद गरेका थिए । शीर्ष नेताहरूसँगको भेटपछि मन्त्री खरेलले आगामी फागुन २१ गते निर्वाचन हुने कुरामा सरकार ढुक्क रहेको बताएका छन् ।
सरकारले दलहरूसँगको संवादलाई व्यवस्थित गर्न कानूनमन्त्री अनिलकुमार सिन्हाको संयोजकत्वमा ‘उच्चस्तरीय राजनीतिक संवाद समिति’ समेत गठन गरेको छ । सोही समितिका सदस्यका रूपमा सञ्चारमन्त्री खरेलले शुक्रबार नेताहरूसँग भेटघाट गरेका थिए ।
प्रमुख राजनीतिक दलहरूले भने हाल चुनावभन्दा पनि गत भदौ २७ गते विघटित प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने अडान राख्दै आएका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतल निवासमा भएको छलफलमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले चुनावी वातावरण नबनेको भन्दै फागुन २१ मा निर्वाचन गराउन असम्भव रहेको धारणा राखेका थिए ।
विपक्षी दलहरू पुनःस्थापनाको पक्षमा रहेका बेला सरकारले भने संवादमार्फत सहमति जुटाएर तोकिएकै समयमा निर्वाचन गराउने प्रयासलाई जारी राखेको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।