लोड हुँदैछ...

मेनु

भोजपुरबाट अजम्बरसहित नेकपाका उम्मेदवार सिफारिस

भोजपुरबाट अजम्बरसहित नेकपाका उम्मेदवार सिफारिस

भोजपुर । नेपाली कम्युनिष्ट पार्टीले भोजपुर जिल्लाबाट आगामी २०८२ फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ ।

पार्टीको जिल्ला कमिटीले लोकप्रिय नेता अजम्बर राई काङमाङसहित पाँच जनाको नाम केन्द्रमा सिफारिस गरेको हो।

काङमाङ साविकको नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हुन्। कोशी प्रदेशबाट तत्कालीन माओवादी केन्द्रको स्थायी समितिमा प्रतिनिधित्व गर्ने एकमात्र नेता उनी अहिलेसम्म कुनै पनि राजकीय जिम्मेवारीमा पुगेका छैनन् ।

नेकपा एमालेमा लामो समय राजनीति गरेका उनी युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्ष समेत भएका थिए । संविधानसभाबाट संविधान निर्माणको क्रममा पहिचानको मुद्दामा एमालेसँग असहमत भएपछि विद्रोह गरेका उनी अशोक राई नेतृत्वको पार्टी हुँदै माओवादी केन्द्रमा आबद्ध भएका थिए। कुशल संगठन र रणनीतिक योजनाकारका रूपमा चिनिने उनलाई भोजपुरबाट उम्मेदवार बनाउने सम्भावना रहेको छ।

नेकपा जिल्ला कमिटीले भने काङमाङसहित दिलकुमार राई, नगेन्द्र भुजेल (अल्पसंख्यक), सन्तोष राई (जेन–जेड) र सुदेश पराजुलीको नाम सिफारिस गरेको छ। भुजेल तत्कालीन माओवादीका जिल्ला संयोजक हुन् भने पराजुली साविकको एकीकृत समाजवादीका नेता हुन्। उनी समाजवादी निकट विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष रहिसकेका छन्।

पार्टीका अनुसार सिफारिस गरिएका पाँच जनामध्येबाट केन्द्रले आवश्यक प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवार चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।