काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ललितपुरको ज्वागलमा बिहीबार दिनभरजसो बिताउँदै नेपालको समकालीन राजनीतिमा नयाँ तरंग ल्याएका छन्। ‘स्वतन्त्र’ छवि बनाएका मेयर शाहले झण्डै १६ घण्टा लामो निरन्तर छलफल र भेटघाटपछि आफू औपचारिक रूपमा ‘पार्टी राजनीति’ मा होमिएको घोषणा गरेका छन्। अहिले पनि उनी कुलमनन घिसिङसँग छलफलमै छन् ।
बिहीबार बिहान ८ बजे नै ज्वागल पुगेका बालेनले बेलुकी करिब ११:४५ बजेसम्म (झण्डै १६ घण्टा) लगातार राजनीतिक भेटघाटमा बिताएका छन् । अहिले पनि उनी छलफलमै छन् । यस क्रममा उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङदेखि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपा सभापति रवि लामिछानेसम्मका व्यक्तित्वहरूसँग गहन छलफल गरे।
बालेनको घोषणा: “अब एक्लै होइन, मिलेर अघि बढ्नुको विकल्प छैन”
दिनभरको लामो रस्साकस्सी र छलफलपछि मेयर बालेनले अबको बाटो सहकार्यको भएको निष्कर्ष निकालेका छन्। उनले भनेका छन्, “पार्टी राजनीतिमा आएँ। अब सहकार्य गर्नुपर्छ। जेनजी लगायत सबैको साथ चाहियो। मिलेर अघि बढ्नुको विकल्प छैन।” यो भनाइले उनी अब स्वतन्त्रबाट माथि उठेर संगठित शक्ति निर्माणमा लागेको स्पष्ट संकेत गर्छ।
ज्वागलस्थित भेटघाट स्थलमा बालेनको समय तालिका निकै व्यस्त रह्यो। उपलब्ध ‘टाइमलाइन’ अनुसार उनको दिन यसरी बित्यो:
बिहान ८:०० बजे: बालेन ज्वागल पुगे।
बिहान ८:३० – ११:०० बजे: कुलमान घिसिङसँग करिब साढे २ घण्टा छलफल।
दिउँसो १२:०० बजे: सागर ढकाल र मेडिकल व्यवसायी/सांसद सुनिल शर्माको प्रवेश।
दिउँसो १२:१५ बजे: रास्वपा सभापति रवि लामिछानेको प्रवेश (अत्यन्त महत्त्वपूर्ण मानिएको भेट)।
दिउँसो १२:३० बजे: सुनिल शर्मा बाहिरिए।
दिउँसो १:२३ बजे: पठाओका सीईओ असिममान सिंह बस्न्यातको प्रवेश।
दिउँसो २:१५ बजे: सांसद अमरेश कुमार सिंहको प्रवेश।
दिउँसो ३:०० बजे: रवि लामिछाने बाहिरिए (करिब ३ घण्टा लामो छलफलपछि)।
दिउँसो ३:१५ बजे: ‘जेनजी’ (Gen-Z) अगुवाहरूको प्रवेश।
दिउँसो ३:४५ बजे: रास्वपा सांसद शिशिर खनालको प्रवेश।
दिउँसो ४:२५ बजे: पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रवेश।
बेलुकी ५:२० बजे: डा. बाबुराम भट्टराई बाहिरिए।
बेलुकी ५:४५ बजे: अभियन्ता खगेन्द्र सुनुवार लगायतको टोली बाहिरियो।
बेलुकी ७:५५ बजे: करिब १२ घण्टाको बसाइपछि बालेन बाहिरिए।
नेताहरू के भन्छन्?
यो भेटघाटलाई नेपालको राजनीतिमा ‘पुराना विरुद्ध नयाँ’ को ध्रुवीकरणको रूपमा हेरिएको छ। भेटघाटपछि बाहिरिएका नेताहरूका प्रतिक्रिया यस्ता थिए:
रवि लामिछाने (रास्वपा सभापति): करिब ३ घण्टा बालेनसँग बिताएका रविले भेट सकारात्मक रहेको बताए। उनले भने, “वार्ता राम्रो भयो, बाँकी समयले बताउला।”
डा. बाबुराम भट्टराई (पूर्व प्रधानमन्त्री): नयाँ शक्तिकाे वकालत गर्दै आएका डा. भट्टराईले बालेनको कदमलाई आफ्नो सपनासँग जोडे। उनले भने, “नयाँ र वैकल्पिक मिल्ने सपना मैले १० वर्षदेखि देखेको हो। विचार र एजेन्डा मिल्ने सबै एक हुनुपर्छ।”
अमरेश कुमार सिंह (सांसद): स्वतन्त्र सांसद सिंहले यसलाई लडाइँको सुरुवातको रूपमा व्याख्या गरे। उनले भने, “यो पुरानो र नयाँ शक्तिबीचको लडाइँको सुरुवात हो।”
सुनिल शर्मा (सांसद, कांग्रेस): भेटमा सहभागी कांग्रेस सांसद शर्माले भने आफू कांग्रेस छोड्न नभई संसद पुनःस्थापनाको विषयमा छलफल गर्न आएको प्रस्ट्याए। उनले भने, “कांग्रेस छाड्न आएका होइन, बरु संसद पुनःस्थापना गर्दा के हुन्छ, हुँदैन भन्नेबारे छलफल भयो।”
नयाँ राजनीतिक ध्रुवीकरण
ज्वागलको यो ‘म्याराथन बैठक’ र बालेनको पार्टी राजनीतिमा प्रवेश गर्ने घोषणाले नेपालको राजनीतिमा नयाँ वैकल्पिक शक्तिहरूको वृहत् गठबन्धन वा पार्टी निर्माणको सम्भावनालाई बलियो बनाएको छ। रवि, बालेन, बाबुराम र युवा पुस्ताको यो मिलनले आगामी फागुन २१ मा हुन लागेकाे निर्वाचनमा पुराना राजनीतिक दलहरूलाई ठूलो चुनौती दिने आँकलन गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।