लोड हुँदैछ...

मेनु

झापा–५ मा ओलीसँग भिडे बालेनको जमानत जफत गरिदिने चेतावनी

झापा–५ मा ओलीसँग भिडे बालेनको जमानत जफत गरिदिने चेतावनी

झापा । नेकपा (एमाले) का नव–निर्वाचित केन्द्रीय सदस्य एवं झापाका नेता चिन्तन पाठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई झापा क्षेत्र नम्बर ५ मा चुनाव लडे जमानत जफत हुने चेतावनी दिएका छन्।

झापाको विर्तामोडमा बिहीबार आयोजित एमालेको विरोध सभालाई सम्बोधन गर्दै नेता पाठकले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने बालेनको चर्चालाई लिएर कडा टिप्पणी गरेका हुन्। उनले बालेन साहलाई झापाली जनताले ‘जमानत जफत’ गरेर देखाइदिने भन्दै राजनीतिक जीवन नै अन्त्य हुन सक्ने चेतावनी दिए ।

‘केपी ओलीसँग क्षेत्र नम्बर ५ मा चुनाव लड्ने कुरा बालेन साहका लागि अत्यन्तै अशुभ समाचार हुनेछ,’ पाठकले भने, ‘झापाली जनताले तिमीलाई जमानत जफत गरेर देखाइदिनेछन्, तिम्रो राजनीतिक जीवनको अन्त्य हुनेछ।’

नेता पाठकले बालेन साहको नाम उल्लेख गर्दै उनले देखाएको साहसलाई ‘दुस्साहस’ को संज्ञा दिए। उनले केपी शर्मा ओलीले राष्ट्रियता, विकास र पूर्वाधारको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै ओलीको विकल्प अरू हुन नसक्ने दाबी गरे।

आफ्नो मन्तव्यका क्रममा पाठकले लिपुलेक, लिम्पियाधुरासहितको बुच्चे नक्सा सार्वजनिक गरेको, भारतीय नाकाबन्दीको डटेर सामना गरेको र मदन भण्डारी लोकमार्ग, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला भौतिक पूर्वाधार निर्माणमा ओलीले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गरे।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds