सोलुखुम्बु । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार सिफारिस गरिएको छ।
बुधबार अबेर सम्पन्न जिल्ला कमिटी बैठकको सर्वसम्मत निर्णयअनुसार प्रत्यक्षतर्फ पाँच जनाको नाम केन्द्रमा पठाइएको जिल्ला कमिटी सदस्य भोजराज कार्कीले जानकारी दिए।
प्रत्यक्षतर्फ सिफारिस हुनेमा हेमकुमार राई (सुरवीर), असिम राई, शिवबहादुर बस्नेत, आङदावा शेर्पा र अमिरकाजी कुलुङ रहेका छन्। सिफारिसमध्ये हेमकुमार राई पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद हुन् भने असिम राई पूर्वजिल्ला संयोजक तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष हुन्।
त्यसैगरी, प्रतिनिधि सभाको समानुपातिकतर्फ पूर्व मन्त्री गोपाल किराँती, पासाङ शेर्पा, निमा तेण्डुप शेर्पा, घनश्याम नेपाली, केशव खड्का, करुणा ढुंगेल, ङिमाडिकि शेर्पा र अमृता कुलुङको नाम उपल्लो कमिटीमा पठाइएको जिल्ला संयोजक नाम्गेल शेर्पाले बताए। विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको पर्यटकीय जिल्ला सोलुखुम्बुमा प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेकाले निर्वाचनलाई सबै दलले उच्च प्राथमिकताका साथ लिने गरेका छन्।
निर्वाचनको तयारी अन्तर्गत नेपाली कांग्रेसले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेको छ । नेकपा एमालेले भने सिफारिस प्रक्रिया अघि नबढाएको जनाइएको छ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।