विराटनगर । नेकपा एमाले मोरङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ १५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले तयार पारेको उक्त सूचीमा पार्टीको ११औं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका नेता गुरु बराल समेत समानुपातिकमा सिफारीस भएका छन् ।
संस्थापन पक्षबाटै उम्मेदवार बन्दा पनि गुरू बराल उपाध्यक्षमा पराजित बनेका थिए । सुवास नेम्वाङको निधनपछि अध्यक्ष केपी शर्मा ओलीले रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनीत गरेका थिए । तर ११ औं महाधिवेशनबाट अनुमोदन हुन खोज्दा उनले १ हजार १ सय ३७ मत मात्रै प्राप्त गरे । पार्टीको आन्तरिक समीकरण र मनोनयनमा सधैं बाजी मार्दै आएका बराल जनताबाट अनुमोदित नभएपछि उनको नाम समानुपातिक तर्फ सिफारीस गरीएको एक नेताले बताए ।
उनले २०५१ सालयता कुनै पनि चुनाव जित्न सकेका छैनन् ।२०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट निर्वाचित हुनु नै उनको संसदीय राजनीतिको अन्तिम जित थियो । त्यसयता उनले पाँचवटा संसदीय चुनाव लडे, तर नतिजा सधैं निराशाजनक रह्यो ।२०५६ सालमा सोही क्षेत्रबाट पराजित भएका बराल २०६४ को पहिलो संविधानसभामा माओवादीका गोपी अछामीसँग र २०७० को दोस्रो संविधानसभामा कांग्रेसका दिलीप गच्छदारसँग पराजित बने ।
जनताबाट प्रत्यक्ष भोट माग्दा बारम्बार अस्वीकृत भएपछि बरालले सुरक्षित ठानिएको राष्ट्रियसभाको बाटो रोजेका थिए । तर, २०७८ माघ १२ मा भएको राष्ट्रियसभा निर्वाचनमा मत बराबर भएपछि गोला तान्दा उनी झापाका गोपाल बस्नेतसँग पराजित भएका थिए ।एमाले मोरङका सचिव सोमराज थापाका अनुसार जिल्लाबाट सिफारिस गरिएका १५ जनाको नाम प्रदेश कमीटीलाई सिफारीस गरीएको हो ।
सचिव थापाले दिएको जानकारी अनुसार नरेश पोख्रेल, भुराज राइ, हरि घिमिरेको नाम पनि सिफारिसमा परेको छ । महिला क्लस्टरतर्फ शान्ति लिम्बू, धना तामाङ र विमला घिमिरेको नाम पठाइएको छ भने मधेशी कोटामा रामलाल साह र रूपनारायण मिश्रलाई समेटिएको छ ।त्यस्तै, थारु कोटाबाट सत्यनारायण चौधरी, दलितबाट खेम नेपाली र आदिवासी जनजाति (राजवंशी) बाट पूर्व मन्त्री ज्ञानेश्वर राजवंशीको नाम पनि सिफारिस गरिएको सचिव थापाले बताए ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार आगामी पुस १३ र १४ गते प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानलाई ध्यानमा राख्दै एमाले मोरङले विभिन्न क्लस्टर र समावेशीतालाई आधार मानेर १५ जनाको नामावली केन्द्रमा पठाएको हो ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।