लोड हुँदैछ...

मेनु

सर्वपक्षीय छलफल

प्रधानमन्त्रीद्वारा निर्वाचनमा जान जोड, निर्वाचनको वातावरण बनाउन दलहरुको दबाब

प्रधानमन्त्रीद्वारा निर्वाचनमा जान जोड, निर्वाचनको वातावरण बनाउन दलहरुको दबाब

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई लक्षित गर्दै सर्वपक्षीय छलफल गरेकी छिन् । छलफलका क्रममा उनले निर्वाचनलाई कुनै संकटको घडीको रुपमा लिन नहुने बताएकी छिन् ।

सिंहदरबारमा आज आयोजना गरिएको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्वाचनलाई परिवर्तनको मार्गको रुपमा बुझ्न सबै दल र पक्षहरुलाई आग्रह गरिन् । ‘निर्वाचन भनेको हाम्रो लागि कुनै संकटको घडी होइन, खुशीको घडी हो । परिवर्तनको मार्ग हो । आजसम्म नेपालमा केही परिवर्तन आएका छन् भने निर्वाचनले नै हौ,’ उनले भनिन् ।

साथै, उनले अहिलेको चुनौतीको रुपमा युवा वर्गलाई फ्रन्टमा ल्याउनुपर्ने बताइन् । ‘अचानक यो परिस्थिति आयो । भदौ २३ र २४ गते सोचसमचभन्दा बाहिरको घटना जे घट्यो । जुन हामी परिकल्पना समेत गरेका थिएनौं । सिंगो राष्ट्रले एउटा परिवर्तनको महसुस गर्‍यो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिलेको चुनौती भनेको युवा वर्गलाई कसरी फ्रन्ट रोमा ल्याउने, उनीहरूको नेतृत्वमा मुलुकलाई कसरी अघि बढाउने भन्ने भावना आयो ।’

देशको सर्वैसर्वा भनेको जनता नै रहेको उनले बताइन् । ‘कुनै पनि राजनीतिक दलभित्र भागबन्डा मिल्यो भने त्यसको तनाव जनतालाई दिन हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सबैभन्दा ठूलो महान भनेको जनता हो । राजनीतिक दल भनेको सेकेन्डरी कुरा हो । जनता के चाहन्छ ? अहिलेको माग के हो ? जेनजी आन्दोलनमा बालक मारिए, त्यसले त जनतामा प्रभाव परेको छ नि त । हामीले के का लागि परिवर्तन गर्ने ? जेनजीले के खोजेको, युवा पुस्ताले के खोजेको भन्ने त बुझ्नुपर्‍यो । मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन ।’

निर्वाचनको वातावरण बनाउन दलहरुको जोड

सबैजसो राजनीतिक दलका नेताहरूले फागुन २१ मा तोकिएको निर्वाचन समयमै गराउनतर्फ सरकार, निर्वाचन आयोग र सबै राजनीतिक दलहरू लाग्नुपर्नेमा जोड दिएका छन् ।

छलफलमा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सराहनीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्ने बताए । विधानविपरीत सरकारले निर्वाचन पर धकेल्ने प्रयास गरे आफूहरूलाई स्वीकार्य नहुने नेता पुनको चेतावनी छ । पूर्वअर्थमन्त्री समेत रहेका पुनले घोषित मितिमा निर्वाचन हुन नसके सरकारले निर्णय गर्ने वा पुरानै संसद् पुनःस्थापना हुनेप्रति सरकारलाई सचेत समेत गराए ।

राष्ट्रिय जनमोर्चाका नेता मनोज भट्टले फागुन २१ गतेको निर्वाचनको धेरै महत्त्वपूर्ण रहेकाले आफ्नो पार्टीले समर्थन गरेको भन्दै कोर्स करेक्सनको उपयुक्त बाटो नै चुनाव हुनसक्ने बताए । यद्यपि उनले वर्तमान सरकार असंवैधानिक रहेको टिप्पणी गरे ।

जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाहले आफ्नो पार्टी फुटाउनेलाई कारबाही गर्न माग गर्दै सरकार र निर्वाचन आयोग स्वयं फागुन २१ मा निर्वाचन हुनेमा विस्वस्त हुन नसकेको आफूले पाएको बताए । निर्वाचन आयोग आफै चुनाव घोषणा भइसकेपछि पार्टी फोड्ने काममा लागेबाटै चुनाव हुनेमा विश्वस्त हुन नसकेको कुशहवाको भनाइ छ । राप्रपाका नेता राजेन्द्र गुरुङले दल र जनेजीबिच नवीन सहमति गरेर मात्रै निर्वाचन गर्नुपर्ने बताए ।

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले फागुन २१ को निर्वाचन सोही मितिमा हुनुपर्ने भन्दै निर्वाचनमार्फत निकास खोज्नुपर्ने धारणा राखे । उनले मन्त्री भनेको बलेनीको ढुंगाजस्तै भएकाले मन्त्रीहरूलाई मुख बन्द गर्न सुझाव दिए ।

नेकपा एमालेका सचिव महेश बस्नेतले फागुन २१ को चुनाव र जनेजी सरकारबिच भएको सम्झौताप्रति आफ्नो पार्टीको सैद्धान्तिक सहमति रहे पनि सरकारकारकै क्रियाकलापबाट चुनाव हुनेमा आफूहरू विश्वस्त हुन नसकेको बताए ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले प्रधानमन्त्रीले शीर्ष नेतासँग छलफल गर्नुपर्ने तथा इगो लिएर कहीँ पनि नपुगिने तर्क गरे । निर्वाचन गर्न पहिला वातावरण निर्माण गर्नुपर्ने र त्यो वातावरण निर्माण सरकारले गर्न नसकेको यादवको भनाइ छ । फागुन २१ गतेका लागि तोकिएको निर्वाचन समयमा नभए प्रधानमन्त्री कार्की र राष्ट्रपति रामचन्द्र पौडेलको लिगेसीको कुरा जोडिने यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds