लोड हुँदैछ...

मेनु

मिराज ढुंगानालाई ‘भगौडा’ भन्दे जेन–जी इन्डिजिनियसको आपत्ति, आन्दोलनमा सहभागी नहुन अपिल

मिराज ढुंगानालाई ‘भगौडा’ भन्दे जेन–जी इन्डिजिनियसको आपत्ति, आन्दोलनमा सहभागी नहुन अपिल

विराटनगर । मिराज ढुंगाना नेतृत्वको समूहले घोषणा गरेको ‘संयुक्त जेन–जी’ आन्दोलनप्रति जेन–जी इन्डिजिनियसले गम्भीर आपत्ति जनाएको छ।

सोमबारका लागि तय गरिएको उक्त आन्दोलनलाई अरुकै योजना र उक्सावटमा गरिएको एकतर्फी कदम भन्दै उक्त समूहले यसको घोर भर्त्सना गरेको हो।

जेन–जी इन्डिजिनियसका संयोजक संग्राम सिंह किराँतीद्वारा जारी गरिएको एक विज्ञप्तिमा, जेन–जी विद्रोहबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नुपर्ने बेलामा सर्वपक्षीय सरकारको माग राख्नु सन्देहास्पद रहेको उल्लेख गरिएको छ। उक्त समूहले सर्वपक्षीय सरकारको माग ऐतिहासिक विद्रोहका दमनकारी शक्ति र तिनीहरूका सहयोगीहरूको मात्र एजेन्डा भएको दाबी गरेको छ।

जेन–जी इन्डिजिनियसले मिराज ढुंगानाको राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘२३ भदौ २०८२ को ऐतिहासिक विद्रोहको तयारी भइरहेका बेला आन्दोलनबाट भागेर पोखरा पुगेका र आन्दोलनमा सहभागी नहुन अपिल गर्ने व्यक्तिले अहिले विद्रोहको स्वामित्व दाबी गर्दै हिरो बन्न खोज्नु लज्जास्पद छ।’ त्यस्तै, ढुंगानालाई ठूला भ्रष्टाचारका काण्डमा मुछिएका व्यक्तिहरू र बिचौलियाहरूले परिचालन गरेको आरोप समेत लगाइएको छ। १० खर्बभन्दा बढी लुटको आरोप लागेका दिपक भट्ट, विवादित प्रदीप अधिकारीका साझेदारहरू र महेश बस्नेत लगायतका समूहबाट ढुंगाना परिचालित भएको समाचार बाहिरिएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले ढुंगानाले राजधानीका महँगा तारे होटलहरूमा गरिरहेका कार्यक्रमहरू समेत तिनै समूहको लगानीमा भइरहेको दाबी गरेका छन्।

मिराज ढुंगानालाई जेन–जी पुस्ताको वास्तविक प्रतिनिधि नभई भ्रष्ट र विद्रोहबाट विस्थापित समूहका भाडाका मान्छे भएको टिप्पणी गर्दै जेन–जी इन्डिजिनियसले ७ पुषको आन्दोलनमा सहभागी नहुन सबै आदिवासी जनजाति युवाहरूलाई विशेष अपिल गरेको छ।

ऐतिहासिक विद्रोहको मर्मलाई कमजोर पार्ने र भ्रष्ट शक्तिहरूलाई पुनः स्थापित गर्ने खेलमा नलाग्न र सचेत रहन उक्त समूहले सम्पूर्ण युवा पुस्तालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds