काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेरै फागुन २१ मै चुनाव हुनुपर्नेमा जाेड दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ पुगेर रास्वपाका नेताहरूले प्रधानमन्त्रीसँग निर्वाचनबारे छलफल गर्दै यस्ताे बताएका हुन् ।
प्रधानमन्त्रीसँगकाे छलफलबारे जानकारी दिँदै रास्वपा नेता सोविता गौतमले पार्टी सभापति जिम्मेवारीमा फर्किएकोबारे औपचारिक जानकारी गराएको बताइन् ।
साथै, जेनजीसँग भएका सम्झौता कार्यान्वयनको विषयमा पनि छलफल भएको गौतमले बताइन् । ‘यो बीचमा सरकारले म्यान्डेट पाएको विषय भनेको निर्वाचन छ । निर्वाचन गराउने सवालमा हामी धेरै पटक वार्तामा आयौं । तिनै चासोका विषयमा पुन: छलफल गर्यौं । भदौ २३ र २४ गतेका घटनाबारे धेरै कुराकानी भए,’ गौतमले भनिन् ।
साथै, प्रतिनिधिसभा निर्वाचनमा जेनजी युवाहरूको प्रतिनिधित्व गराउने विषयमा पनि छलफल भएको गौतमले बताइन् । ‘अहिले युवा पुस्ताले चासो पनि राखिरहेको, जेनजी उमेरसमूहका साथीले पनि २१ वा १८ उमेरका साथीहरूलाई संघीय निर्वाचनमा भाग लिन के गर्न सकिएला ? भन्ने कुरा राखिरहनुभएको छ । यसबारे पनि कुराकानी भयो,’ उनले भनिन्, ‘निर्वाचन लक्षित हाम्रा तयारीबारे जानकारी गरायौं ।’
छलफलमा सहभागी नेता शिशिर खनालका अनुसार, आफूहरूले ढुक्कसँग निर्वाचनका गतिविधि अघि बढाएको जानकारी सरकारसमक्ष गराइएको छ । ‘निर्वाचन हुन्छ भन्ने ढुक्क भएर हाम्रा गतिविधि अगाडि बढाएका छौं । सरकारको तयारीले फागुन २१ मा चुनाव हुन्छ कि हुँदैन भन्ने विषयमा अलि बढी छलफल भयो,’ खनालले भने ।
त्यस्तै, सञ्चारमन्त्री समेत रहेका प्रवक्ता जगदीश खरेलले चुनावलाई स्वतन्त्र र धाँधलीरहित ढंगबाट अघि बढाउन आफूहरू तयार रहेको जानकारी रास्वपालाई गराइएको बताए । ‘चुनावलाई कसरी स्वतन्त्र, धाँधलीरहित ढंगमा फागुन २१ मा नै गर्न सकिन्छ भन्नेबारे छलफल भयो । चुनाव फागुन २१ मै हुनुपर्छ । चुनावमा भाग लिने कुरामा स्पष्ट रुपमा भाग लिन्छौं भनेर भन्नुभएको छ,’ खरेलले भने ।
उनले वर्तमान सरकारले कसैलाई पनि अन्याय नगर्ने पनि बताए । ‘यो सरकारले अन्याय गर्दैन र कसैलाई अन्याय हुन पनि दिँदैन । कानुनी राजको पक्षमा सरकार दृढ छ,’ खरेलले भनेका छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।