विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुुपर्ने बताएका छन् ।
विराटनगर महानगरपालिका–६ सरौचियामा शनिबार आयोजित पार्टी कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस निर्वाचनमा जाने निर्णय गरिसकेकोले सरकारले त्यसको वातावरण बनाउनुपर्ने बताए ।
‘कांग्रेस निर्वाचनमा जान्छ, यसमा कुनै अन्योल छैन,’ कोइरालाले भने, ‘तर सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्यो । अझै पनि जेलबाट सशस्त्र कैदीसहित करिब पाँच हजार कैदी फरार छन्, प्रहरीका हतियार लुटिएका छन् । फरार कैदी पक्राउ गर्न र लुटिएका हतियार बरामद गर्न सरकारको ध्यान जानुपर्छ ।’ राजनीतिक दलका नेता तथा पूर्वप्रधानमन्त्रीलाई काठमाडौं बाहिर जान नदिने सरकारको कामप्रति उनले आपत्ती जनाए ।
कांग्रेस विगतझैं सबै राजनीतिक दलको सहभागितामा निर्वाचन हुनुपर्ने पक्षमा रहेको स्पष्ट पार्दै कोइरालाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे फरक–फरक रूपमा हेर्नुपर्ने बताए । ‘२३ गते सरकारको तर्फबाट भएको घटना अत्यन्त घृणित र निन्दनीय थियो, त्यसमा कसैलाई माफी दिन मिल्दैन,’ उनले भने, ‘तर २४ गतेको घटना मुलुकका लागि निकै दुर्भाग्यपूर्ण हो । दुवै घटनामा दोषी जो भएपनि कानुनी दायरामा ल्याइनुपर्छ ।’
नेता कोइरालाले पार्टीको १५ औँ महाधिवेशन निर्धारित समयभन्दा केही अघि–पछाडि हुनसक्ने सम्भावनासमेत औंल्याए । सभापतिमा दाबी गर्दै आएका उनले पार्टीको नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिँदै क्रियाशील सदस्यताको विषयमा गम्भीर ध्यान दिन कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रुक्मिणी कोइराला, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, नेपाल ट्रेड युनियन कांग्रेस मोरङका सभापति सुशील कोइरालालगायतको उपस्थिति रहेको थियो । सो अवसरमा नेकपा (एमाले)का युवा नेता नवीनविक्रम शाह, राजकुमार कामतसहित करिब एक सय जना विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेको वडा नम्बर ६ का बुथ सभापति रामनाथ ढकालले दावी गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।