विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनमा भएका नयाँ नेतृत्वको निर्वाचन प्रक्रियामा असफल बनेका नेता इश्वर पोखरेल पक्षले छुट्टै भेला गरेर निर्वाचनमा प्रतिस्पर्धा गरेकै आधारमा काखापाखा गरिए प्रतिवादमा उत्रने निष्कर्ष निकालेको छ ।
काठमाडौंको कार्की बैंक्वेटमा शनिबार बसेको पोखरेल पक्षको भेलाले एमाले महाधिवेशनमा आफुहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय पनि गरेको छ ।
भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगाएतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको एमाले उपसहासचिव योगेश भट्टराईले जानकारी दिए ।
‘हामीले उठाएका विचारहरूलाई पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण लगायतका विषयलाई विधि र विधानभित्र बसेर निरन्तर उठाउने निष्कर्ष निकालेका छौं,’ उनले भने । उनले पार्टीको मतपरिणामका कारण बिचलित नहुन नेताहरूलाई आग्रह गरिएको र पार्टीलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको धारणा राखे ।
महाधिवेशनमा ईश्वर पोखरेलको नेतृत्वमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय आयोगमा उम्मेदवारी दिएकाहरूको संक्षिप्त बैठक आयोजना गरेको भट्टराईले बताए । ‘महाधिवेशन कस्तो भयो यसको राजनीतिक सन्देश के भयो भन्ने देशव्यापी समीक्षा गर्ने तयारी गरेका छौं । हाम्रो यो भेलाले नेकपा एमालेलाई थप एकताबद्ध बनाउन हाम्रोतर्फबाट भूमिका खेल्ने निर्णय गरेका छौं,’ उनले भने ।
प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्र भएका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको र पार्टी संरचनाको दूरुपयोग भएको भन्दै उनले लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने काम भएकोप्रति चिन्ता व्यक्त गरिएको बताए ।
‘लोकतान्त्रिक प्रतिस्पर्धा कति स्वस्थ र मर्यादित भयो भन्ने सबैले देखेकै छ । प्रतिनिधि छनोटदेखि बन्दसत्रसम्म भएका थुप्रै क्रियाकलापले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको छ । पार्टी संरचनाको दुरुपयोग गरिएको छ,’ उनले भने ।
भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए । पार्टीभित्र पक्षपात, गुटबन्दी, विभाजन, काखापाखा गर्ने प्रस्ताव आए भने हामी पार्टी संगठनभित्र बसेर प्रतिवाद गर्छौं,’ भट्टराईले भने ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।