विराटनगर । विसं २०८३ सालको पञ्चाङ्ग २०८२ सालकै आधार अनुरूप प्रकाशन गर्ने निर्णय गरिएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पञ्चाङ्गकारसहितको संयुक्त बैठक बसेर सो निर्णय गरेको जनाएको छ।
समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार विविध कारणले पञ्चाङ्ग रूजु तथा छलफल प्रक्रियामा ढिलाइ भएको, केतकी ग्रहगणितका आधारमा पञ्चाङ्ग खण्ड तयार गर्न थप समय आवश्यक पर्ने र पञ्चाङ्ग प्रकाशनमा ढिलाइ हुँदा सेवाग्राहीलाई समस्या पर्ने देखिएकाले २०८२ सालकै व्यवस्था कायम गर्ने निर्णय गरिएको हो । यसअघि विसं २०८३ को पञ्चाङ्ग केतकी ग्रहगणितको आधारमा गणना गरी समितिमा पेश गर्न सूचना जारी गरिएको थियो ।
समितिको निर्णय अनुसार नेपाल राष्ट्रका लागि प्रकाशित हुने पञ्चाङ्गका सन्दर्भमा गत वर्ष नै पञ्चाङ्ग खण्ड परम्परागत सौरोक्त पद्धतिमा आधारित रहने व्यवस्था गरिएको थियो । अन्य ग्रहहरूको गणना भने ज्योतिर्गणितम् तथा केतकी ग्रहगणितको आधारमा गरी पञ्चाङ्ग प्रकाशित हुँदै आएको समितिले जनाएको छ।
समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालका अनुसार सौरोक्त पद्धतिबाट गरिने गणनालाई समयसापेक्ष आकाशीय ग्रहस्थितिसँग अझ सटीक बनाउन सिद्धान्त ज्योतिषका राष्ट्रिय तथा अन्तरराष्ट्रिय ख्यातिप्राप्त विद्वान ज्योतिषीलाई आमन्त्रण गरी विस्तृत छलफल प्रक्रिया तत्काल अघि बढाउने निर्णयसमेत गरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।