लोड हुँदैछ...

मेनु

ओलीप्रति आक्रोश पोख्दै न्यौपानेले भने– ‘बोलीको ठेगान नभएको मान्छे’

ओलीप्रति आक्रोश पोख्दै न्यौपानेले भने– ‘बोलीको ठेगान नभएको मान्छे’

काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित रहेका छन्। निवर्तमान केन्द्रीय सदस्य बसन्त नेम्बाङ स्वास्थ्य समस्याका कारण मतदानमा सहभागी हुन सकेनन् भने अन्य प्रतिनिधिहरू पनि विभिन्न कारणले मतदानमा सरिक भएनन्। तत्कालीन एकीकृत समाजवादीबाट एमाले फर्किएका र स्थायी कमिटी सदस्यको जिम्मेवारी पाएका नेता मुकुन्द न्यौपाने पनि मतदान प्रक्रियामा सहभागी भएनन्।

एमाले फर्किएपछि उनलाई जिम्मेवारी दिनकै लागि २०८० जेठमा विधान संशोधन गरिएको थियो। तर, बुधबारदेखि सुरु भएको मतदानमा उनी उपस्थित भएनन्। हाल हेटौंडामा रहेका न्यौपानेले गोदावरीको विधान महाधिवेशनबाट भएको निर्णय उल्ट्याएर अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूल विधान बनाएको भन्दै तीव्र असन्तुष्ट व्यक्त गरेका छन्। उनले विधान महाधिवेशनबाट भएको निर्णय कार्यान्वयन नभएको र ओलीले तीन महिनामै कुरा फेर्ने गरेको आरोप लगाए। ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान खारेज गरिएको प्रति आपत्ति जनाउँदै उनले ओलीलाई ‘बोलीको ठेगान नभएको मान्छे’ को संज्ञा दिएका छन्। उनले ओलीसँग बसेर देश बन्ने कल्पना गर्न नसकिने भन्दै आफू मतदानमा सरिक नभएको स्पष्ट पारे।

न्यौपानेले नैतिकतालाई पहिलो प्राथमिकता दिँदै ‘केपी ओली बसेको पार्टीमा म बस्दिनँ’ भनेर निस्किएको बताए। उनले पार्टी नेतृत्वको नीति र बोलेको कुरामा अडान नभएको भन्दै लेखेर गरिएका निर्णय समेत लागु नभएको गुनासो गरे। जनताको बहुदलीय जनवाद (जबज) को लोकतान्त्रिकरण भनेर पुस्तक बाँड्ने तर जनतासँग गरेका वाचाहरू लागु नगर्ने प्रवृत्ति नेतृत्वमा देखिएको उनको भनाइ छ। आफूलाई जे चाहिन्छ त्यही निर्णय गर्ने र संख्या घटाउने तर कार्यकाल र उमेरहद हटाउने कार्यले नेतृत्वको अनैतिकता प्रष्ट पारेको उनले जिकिर गरे।

नेतृत्व नैतिक नहुनु एमालेभित्र मात्र नभई ठूला भनिएका सबै पार्टीको समस्या रहेको औंल्याउँदै उनले ३४ वर्षमा ३२ वटा सरकार परिवर्तन हुनु बिडम्बनापूर्ण रहेको बताए। अघिल्लो आम निर्वाचनदेखि नै कांग्रेससँग गठबन्धन गर्ने विषयलाई लिएर आफू र ओलीबीचको सम्बन्ध चिसिएको र १८ महिनादेखि सम्बन्ध बिग्रिएको उनले खुलासा गरे। यद्यपि, पार्टीमै सक्रिय रहने वा नरहने भन्ने विषयमा भने उनले स्पष्ट जवाफ दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds