लोड हुँदैछ...

मेनु

नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक

नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक हर्षल जयन्त पाठकलाई नियुक्त गरेको छ। क्यानले मंगलबार पाठकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको सार्वजनिक गरेको हो ।

पाठक यसअघि थाइल्यान्ड महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक थिए । उनको प्रशिक्षणकालमा थाइल्यान्डले एसियाकपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो, जसलाई उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टोली हाल आइसिसी वुमन्स टी–२० विश्व छनोटको तयारीमा जुटेको छ। त्यसका लागि टोली बन्द प्रशिक्षणमा रहेको क्यानले जनाएको छ। विश्व छनोट प्रतियोगिता आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म काठमाडौंमा सञ्चालन हुँदैछ।

यसअघि क्यानले विश्व छनोटका लागि २६ सदस्यीय प्रारम्भिक महिला टोली घोषणा गरिसकेको छ। प्रतियोगितामा १० देश सहभागी हुनेछन्, जसमध्ये शीर्ष चार टोली सन् २०२६ को जुनमा इङ्ल्याण्डमा हुने महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन्।

ग्लोबल क्वालिफायरअन्तर्गत समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्यान्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी परेका छन्। क्यानले नयाँ प्रशिक्षक पाठकको अनुभवले नेपाली महिला टोलीको प्रदर्शन अझ सशक्त हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।