काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा आफ्नो उपाधि रक्षाको अभियान निकै शक्तिशाली ढंगले सुरु गरेको छ। अमेरिकाको क्यान्सास सिटी स्टेडियममा खेलिएको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले ‘डेजर्ट फक्सेस’ भनिने अल्जेरियाविरुद्ध ३–० को सहज र सानदार जित दर्ता गरेको हो।
अर्जेन्टिनालाई यो विशाल जित दिलाउने क्रममा टोलीका कप्तान लियोनेल मेसीले एकै खेलमा ३ गोल गर्दै आफ्नो विश्वकप करियरको पहिलो ह्याट्रिक पूरा गरे। ३८ वर्षको उमेरमा पनि जादुमयी प्रदर्शन गरिरहेका इन्टर मियामीका यी फरवार्डले यो ऐतिहासिक रात विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान समेत बराबरी गरेका छन्।
फुटबल इतिहासका अनेकौँ कीर्तिमान आफ्नो नाममा राखिसकेका मेसीका लागि यो विश्वकप ह्याट्रिक निकै विशेष रह्यो। सन् २०२२ को कतार विश्वकपको फाइनलमा फ्रान्सका किलियन एम्बाप्पेले ह्याट्रिक गरेयता विश्वकपको मञ्चमा ह्याट्रिक गर्ने मेसी पहिलो खेलाडी बनेका छन्।
कतारको त्यो ऐतिहासिक फाइनल खेल अतिरिक्त समयपछि ३–३ को बराबरीमा सकिएको थियो, जहाँ मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै विश्वविजेता बनेको थियो।
यसपटकको विश्वकपको सुरुवाती दिनमै फ्रान्सका किलियन एम्बाप्पे र नर्वेका अर्लिङ हालान्ड जस्ता युवा स्टारहरूले आ–आफ्नो खेलमा गोल गर्दै सानदार प्रदर्शन गरिसकेका छन्। तर, युवा पुस्ताको यो दबदबाका बीच ३८ वर्षीय मेसीले आफूलाई अझै पनि खेलको सर्वकालीन राजा किन भनिन्छ भन्ने कुरा मैदानबाटै पुनः प्रमाणित गरिदिएका छन्।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।