लोड हुँदैछ...

मेनु

इटहरीको बजेट २ अर्ब ५२ करोड, ८ करोड ८० लाख ऋण लिने प्रस्ताव

इटहरीको बजेट २ अर्ब ५२ करोड, ८ करोड ८० लाख ऋण लिने प्रस्ताव

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

उपप्रमुख सङ्गीता कुमारी चौधरीले नगरसभामा बजेट प्रस्तुत गर्दै विकास निर्माण, खानेपानी समस्या समाधान र आन्तरिक राजस्व सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताइन्।

उपमहानगरले कुल बजेटको ठूलो हिस्सा पूँजीगत खर्चमा विनियोजन गरेको छ। चालु खर्चतर्फ ९४ करोड ८३ लाख ७० हजार रुपैयाँ (३७.५९ प्रतिशत), वित्तीय व्यवस्थापनका लागि १ करोड २४ लाख रुपैयाँ तथा १ अर्ब २९ करोड ४६ लाख रुपैयाँ पूँजीगत खर्चका लागि छुट्याइएको छ। विषयगत तथा कार्यक्रमगत खर्चका लागि २६ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटका लागि संघीय सरकारबाट समानीकरण अनुदान २८ करोड ७३ लाख रुपैयाँ, सशर्त अनुदानअन्तर्गत चालु खर्चका लागि ४९ करोड ७० लाख रुपैयाँ र पूँजीगत खर्चका लागि ४९ करोड १८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। संघीय विशेष अनुदान ५ करोड रुपैयाँ रहनेछ।

प्रदेश सरकारबाट समानीकरण अनुदान २ करोड ७५ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान चालुतर्फ १ करोड ३७ लाख ७० हजार रुपैयाँ र पूँजीगततर्फ ३ करोड २३ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। राजस्व बाँडफाँटबाट संघीय सरकारबाट १९ करोड ९८ लाख ५७ हजार रुपैयाँ र प्रदेश सरकारबाट सवारी कर वापत २ करोड २२ लाख ५३ हजार रुपैयाँ आउने अनुमान छ।

स्थानीय स्रोतबाट मालपोत तथा अन्य बाँडफाँटमार्फत २५ करोड रुपैयाँ र आन्तरिक राजस्वबाट ५६ करोड ३० लाख ४० हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ। नगर विकास कोषबाट ८ करोड ८० लाख रुपैयाँ ऋण लिने प्रस्ताव पनि बजेटमा समावेश गरिएको छ।

उपमहानगरले इटहरीको दीर्घकालीन खानेपानी समस्या समाधानलाई मुख्य प्राथमिकतामा राखेको छ। एशियाली विकास बैंकको सहयोग, नेपाल सरकारको अनुदान तथा ऋण, इटहरी उपमहानगरपालिका र इटहरी खानेपानी उपभोक्ता संस्थाको साझेदारीमा एकीकृत खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गरिने भएको छ। आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु हुने जनाइएको छ। स्थानीय सरकारको तर्फबाट आवश्यक लगानी व्यवस्थापन गर्न नगर विकास कोषमार्फत ऋण लिने प्रस्ताव पनि बजेटमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।