लोड हुँदैछ...

मेनु

काँकरभिट्टा–पानीट्याङ्की नाकामा सुरक्षा जाँच कडा, यात्रु र व्यवसायी प्रभावित

काँकरभिट्टा–पानीट्याङ्की नाकामा सुरक्षा जाँच कडा, यात्रु र व्यवसायी प्रभावित

विर्तामोड । नेपाल–भारत सीमाअन्तर्गत काँकरभिट्टा–पानीट्याङ्की नाकामा भारतीय सुरक्षा निकायले पछिल्ला दिनमा यात्रु आवतजावतमा कडाइ गरेपछि सीमावर्ती क्षेत्रको जनजीवन र व्यवसाय प्रभावित हुन थालेको छ।

स्थानीय व्यवसायी, यातायातकर्मी र बासिन्दाका अनुसार केही सातायता जाँच प्रक्रियामा उल्लेखनीय परिवर्तन देखिएको छ।

स्थानीय स्रोतका अनुसार यसअघि परिचयपत्र देखाएर सहज रूपमा आवतजावत हुँदै आएको नाकामा अहिले यात्रुका झोला तथा सामान स्क्यानिङ गर्ने, लाममा उभ्याएर व्यक्तिगत जाँच गर्ने तथा पर्स र खल्तीसमेत निरीक्षण गर्ने कार्य नियमित गरिएको छ।

सीमावर्ती क्षेत्रका बासिन्दाले भारतको तृणमूल कङ्ग्रेससँग आबद्ध नेता जहीर खान नेपालबाट पक्राउ परेपछि भारतीय पक्षले सुरक्षा सतर्कता बढाएको हुनसक्ने अनुमान गरेका छन्। यद्यपि, भारतीय सुरक्षा निकायले यस विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

सुरक्षा जाँच कडा भएसँगै दैनिक रूपमा सीमा पार गर्ने कामदार, व्यापारी तथा सर्वसाधारणले लामो समय जाँच प्रक्रियामा खर्चिनुपरेको गुनासो गरेका छन्। यसले सीमावर्ती क्षेत्रका साना व्यवसायमा समेत असर परेको स्थानीयको भनाइ छ।

पछिल्लो समय विद्युतीय रिक्सा सञ्चालनमा पनि प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ। यसअघि मेची पुलको प्रारम्भिक क्षेत्रसम्म नेपाली विद्युतीय रिक्सा सञ्चालन हुने र नेपालतर्फको सुरुआती बिन्दुसम्म भारतीय विद्युतीय रिक्सा आउने प्रचलन थियो। तर अहिले भारतीय सीमा सुरक्षा बलले मेची पुलको बीच भागसम्म आएर नेपाली रिक्सालाई फर्काउने तथा भारतीय सवारी साधनमा पनि समान नियम लागू गर्न थालेको स्थानीयले बताएका छन्।

यसबाट सीमापार यात्रु ओसारपसारमा प्रत्यक्ष असर परेको र आम्दानी घटेको भन्दै रिक्सा चालकहरू असन्तुष्ट बनेका छन्।

“पहिले जस्तो सहज अवस्था छैन। यात्रु पनि कम भएका छन् र सवारी सञ्चालनको दायरा सीमित बनाइएको छ,” काँकरभिट्टा क्षेत्रका एक चालकले बताए।

स्थानीय सरोकारवालाले सुरक्षा व्यवस्थालाई सम्मान गर्दै सर्वसाधारणको दैनिक आवतजावत र जीविकोपार्जनमा अनावश्यक कठिनाइ नपर्ने गरी व्यवस्थापन गर्न तथा दुवै देशका सुरक्षा निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।