विराटनगर । कोशी प्रदेशमा लागुऔषध कारोबार, ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत १९ जना पक्राउ परेका छन्।
झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा गरिएको कारबाहीका क्रममा ब्राउन सुगर, गाँजा, प्रतिबन्धित औषधि, नगद तथा सवारी साधन बरामद गरिएको प्रहरीले जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अभियानका क्रममा ४४ ग्राम ८६० मिलिग्राम ब्राउन सुगर, ६२ किलोग्राम गाँजा, ९०४ ट्रामोल क्याप्सुल र १ हजार २६६ कोलिभान क्याप्सुल बरामद गरिएको छ। साथै चारवटा मोटरसाइकल, दुईवटा अटो र १३ हजार २६० रुपैयाँ नगदसमेत फेला परेको छ।
झापामा अर्जुनधारा नगरपालिका–५ का भरत मोहरालाई १ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, नगद र टेम्पोसहित पक्राउ गरिएको छ। कमल गाउँपालिका र हल्दिबारीका तीन जनालाई ७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर तथा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। इलामका रनधीर प्रधान र बिर्तामोडका सुनील तथा उदय पासवानलाई पनि ब्राउन सुगरसहित पक्राउ गरिएको छ।
मोरङमा विराटनगर–१७ का अरमान मियाँ तथा लेटाङका मनकुमार मगर र हर्कबहादुर तामाङलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ।
सुनसरीमा रामधुनीका शिशिर गुरागाईं र इटहरीका विमल लम्साललाई १ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु र मोटरसाइकलसहित पक्राउ गरिएको छ। बराहक्षेत्र र बेलकाका ६ जनालाई २६ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर तथा मोटरसाइकल र अटोसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैबीच, बराहक्षेत्र नगरपालिका–११ मा बेवारिसे अवस्थामा राखिएको ६२ किलोग्राम गाँजा बरामद गरिएको छ। प्लास्टिकको बोराभित्र लुकाएर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
धरान उपमहानगरपालिका–९ मा डेरा गरी बस्दै आएका फुर्मा गुरुङलाई ९०४ ट्रामोल क्याप्सुल र १ हजार २६६ कोलिभान क्याप्सुलसहित पक्राउ गरिएको छ।
प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ। कोशी प्रदेशमा लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै यस्ता अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।