विराटनगर । नेपाल चिया उत्पादक संघले विगत केही समयदेखि गर्दै आएको उद्योग बन्दसहितका आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ । सरकारले चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि संघले आजैदेखि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरका कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएको थियो । निर्यात ठप्प भएपछि झापा र इलामका चिया उद्योगहरू संकटमा परेका थिए । सरकारले समयमै चासो नदेखाएको भन्दै संघले बाध्य भएर उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो ।
तर, पछिल्लो समय नेपाल सरकारले चिया निर्यातमा देखिएका प्राविधिक समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न विशेष कार्यदल गठन गरेपछि व्यवसायीहरू सकारात्मक भएका हुन् । संघका अध्यक्ष आदित्य पराजुलीको नेतृत्वमा काठमाडौं गएको प्रतिनिधिमण्डललाई प्रधानमन्त्री कार्यालयबाट कूटनीतिक र प्रशासनिक पहल गर्ने स्पष्ट आश्वासन प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल चिया उत्पादक संघका उपाध्यक्ष शिवकुमार गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चिया बगानमा किसानहरूको हरियो पत्ती खेर गइरहेको संवेदनशील अवस्था र मजदुरहरूको दैनिक गुजारामा परेको असरलाई मध्यनजर गर्दै, उद्योगहरू सधैँका लागि बन्द गरिरहनु उपयुक्त नहुने ठहर गरेका छौँ । त्यसैले सरकारको सकारात्मक पहललाई सम्मान गर्दै आजैका मितिदेखि सबै उद्योगहरू पुनः सञ्चालन गर्ने र चिया क्षेत्र खुला गर्ने निर्णय गरेका छौँ ।’
संघले आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनमा ऐक्यबद्धता जनाउने सम्पूर्ण चिया उद्यमी, किसान, मजदुर, राजनीतिक दल र सञ्चारकर्मीहरूलाई धन्यवाद समेत ज्ञापन गरेको छ । चिया क्षेत्रको दिगो समाधानका लागि सरकारले देखाएको तत्परतालाई संघले स्वागत गरेको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।