लोड हुँदैछ...

मेनु

कोशी हुँदै नेपाल भित्रियो मनसुन

कोशी हुँदै नेपाल भित्रियो मनसुन

विराटनगर । यस वर्षको मनसुन अन्ततः नेपाल भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार कोशी प्रदेशबाट मनसुन नेपाल प्रवेश गरेको हो। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने गरे पनि यसपालि ६ दिन ढिलो गरी कोशी प्रदेशहुँदै मनसुनको आगमन भएको हो।

प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण मनसुन भित्रिन ढिलाइ भएको मौसमविद्हरूले बताएका छन्। अघिल्लो वर्ष सरदरभन्दा १५ दिनअगावै मनसुन आएको भए पनि यस वर्ष औसतभन्दा कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण विभागले गरेको छ।

मनसुनको प्रवेशसँगै आज कोशी प्रदेशका हिमाली, पहाडी र तराईका भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विभागले कोशी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत चेतावनी दिएको छ।

देशभरको अवस्था
कोशीमा मनसुन सक्रिय भइरहँदा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा पनि वर्षा सुरु भएको छ। गएको २४ घण्टामा तनहुँको कोटगाउँमा १३६ मिलिमिटर वर्षा भएको छ भने बन्दीपुर, दमौली, बागलुङ र कास्कीमा पनि उल्लेख्य वर्षा मापन गरिएको छ।

यद्यपि, देशको पश्चिमी भू-भागमा भने अझै गर्मीको लहर कायमै छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज पनि तातो लहर (लु) चल्ने सम्भावना छ। बागमती र गण्डकीका तराई क्षेत्रमा पनि गर्मी बढ्ने देखिएको छ।

आज राति कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। मधेश प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।