इटहरी । उदयपुर र सुनसरी जोड्ने सप्तकोशी पुलबाट नदीमा हाम फालेका एक युवक मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान सप्तकोशी नदीमा हाम फालेका धरान उपमहानगरपालिका–५ झरना चोक निवासी ४२ वर्षीय सरोज श्रेष्ठको शव साँझ नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो।
प्रहरीका अनुसार श्रेष्ठले बिहान करिब ८ बजे उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित सप्तकोशी पुलमा आफ्नो साइकल, चप्पल र मोबाइल फोन छाडेर नदीमा हाम फालेका थिए। स्थानीयले घटनाबारे जानकारी गराएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस चतरा, सुरक्षा बेस रामपुर उदयपुर तथा नेपाल प्रहरीका गरी २४ जनाको टोलीले रबर बोटसहित कोशी पुल, कोशी कटान, बोराबाँध र सिसौलीघाट क्षेत्रमा खोजी अभियान सञ्चालन गरेको थियो।
खोजतलासका क्रममा साँझ ६ बजे घटनास्थलबाट करिब १० किलोमिटर दक्षिण बेलका नगरपालिका–८ स्थित सिसौलीघाट पारिको कोशी नदीको बीच भागमा शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शवलाई रबर बोटमार्फत सुनसरीको बराहक्षेत्र नगरपालिका–६ सिसौलीघाटस्थित कोशी किनारमा ल्याइ आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको थियो। त्यसपछि पोस्टमार्टमका लागि राति ९ः५० बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।