विराटनगर । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी २०८२ सालको फागुनमा काठमाडौँमा गर्ने निर्णय गरेको छ। संघको ‘बृहत् एकता’ पछि गठित स्टेरिङ कमिटीको आइतबार सम्पन्न दोस्रो बैठकले महाधिवेशन तथा निर्वाचन सन् २०२६ को फेब्रुअरी २३ देखि २५ तारिखसम्म (विसं २०८२ फागुन ११, १२ र १३ गते)गर्ने निर्णय गरेको हो।
संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाद्वारा जारी विज्ञप्तिअनुसार बैठकले सांगठनिक एकतालाई तार्किक निष्कर्षमा पुर्याउन राष्ट्रिय समन्वय समिति (एनसीसी) हरूको एकता प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। यसका लागि गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरिएको छ। समितिको सह–संयोजकमा टीका गुरुङ (राधिका)तथा सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का रहेका छन्।
यसैगरी, संघले एकताको सन्देश प्रवाह गर्न र आवश्यक छलफलका लागि क्षेत्रीयस्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरूको तालिका पनि सार्वजनिक गरेको छ। जसअनुसार डिसेम्बर १९ मा मध्यपूर्व तथा अफ्रिका क्षेत्र, डिसेम्बर २० मा एसिया प्रशान्त तथा ओसिनिया क्षेत्र र डिसेम्बर २१ मा अमेरिकाज तथा युरोप क्षेत्रमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।
बैठकले अनुशासन र संस्थाप्रतिको प्रतिबद्धतालाई प्राथमिकता दिँदै स्टेरिङ कमिटीका सम्पूर्ण सदस्यहरूले आगामी बैठकसम्म अनिवार्य रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिसक्नुपर्ने नियम बनाएको छ। तोकिएको समयभित्र हस्ताक्षर नगर्ने सदस्यले आगामी बैठकमा सहभागिता जनाउन नपाउने निर्णय समेत भएको छ। साथै, सदस्यतासम्बन्धी विषयलाई थप व्यवस्थित बनाउन यसअघिको पाँच सदस्यीय कमिटीमा दुई जना थप गरी सात सदस्यीय बनाइएको छ।
संघले आगामी १२औँ महाधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन विश्वभर रहेका गैरआवासीय नेपाली समुदाय र मातहतका निकायलाई सहयोगका लागि अपिल गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।