दक्ष प्राविधिक जनशक्ति बन्न पोलिटेक्निकका विद्यार्थीलाई अभिमुखीकरण

दक्ष प्राविधिक जनशक्ति बन्न पोलिटेक्निकका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । दक्ष प्राविधिक बनेर देशमै आफ्नो क्षमता प्रदर्शन गर्न आग्रह गर्दै मनमोहन पोलिटेक्निकले इन्जिनियरिङतर्फको तीनवर्षे तहका नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरण गराएको छ ।

बुधबार हात्तीमुढास्थित कलेजमा कार्यक्रम आयोजना गरी सिभिल, आईटी, मेकानिकल, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स इन्जिनियरिङका नयाँ विद्यार्थीहरूलाई देश सुहाउँदो, इमानदार र दक्ष जनशक्ति बन्न आग्रह गर्दै अभिमुखीकरण गराइएको हो ।

कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका संरक्षण समिति सदस्य तथा सिनेट सदस्य सत्यनारायण चौधरीले पढेर मात्र नभई व्यवहारमा उतारेर दक्ष बन्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले भने, ‘पढेर मात्र हुँदैन, काम गरेरै दक्ष बन्नुपर्छ र देशमै रोजगारी गरेर सेवा दिनुपर्छ ।’ उनले मनमोहन पोलिटेक्निकले चार पटकसम्म देशकै उत्कृष्ट प्राविधिक शिक्षालयको सम्मान पाइसकेकाले यहाँ अध्ययन गर्ने कसैको पनि लगानी खेर नजाने बताए ।

अर्का संरक्षण समिति सदस्य राजन केसीले अनुशासनको पालना गरेर अध्ययन गरे मात्र विद्यार्थीहरूले लिएको लक्ष्य प्राप्त गर्न सक्ने बताए । त्यस्तै, सिनेट सदस्यहरू बलभद्र सरदार र कासिम मियाँले पढेर देशमै स्वरोजगार वा रोजगार बन्न सके मात्र नागरिकको कर्तव्य पूरा हुने धारणा राखे ।

मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ तथा एप्लाइड हेल्थ साइन्सेजकी डिन डा. रेखा शर्माले देशमा भएका सक्षम विज्ञ इन्जिनियरहरूको पृष्ठभूमि पनि डिप्लोमा तह नै भएको बताइन् । उनले भनिन्, ‘पोलिटेक्निकमा पढ्ने विद्यार्थीहरू भविष्यमा सफल इन्जिनियर बन्न सक्छन् । डिप्लोमा तहमा इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई उच्च शिक्षा पढ्न पनि धेरै सहज हुन्छ ।’

मनमोहन पोलिटेक्निकका प्राचार्य सुदीप अधिकारीले पोलिटेक्निकले सधैँ दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय र व्यावहारिक पठनपाठनमा प्राथमिकता दिएकै कारण चार पटकसम्म देशकै उत्कृष्ट शिक्षालय बन्न सफल भएको बताए। उनले पोलिटेक्निकमा अध्ययनरत विद्यार्थीहरू कोही पनि बेरोजगार बस्नु नपर्ने र स्वदेशमै सहजै रोजगारी प्राप्त गर्न सक्ने दाबी गरे ।

कार्यक्रममा उत्प्रेरक एवं नेपाल प्रहरीका सई अशोक कार्कीले मनैदेखि देशलाई माया गर्न सके मात्र पढेर दक्ष नागरिक बनेको कुरा यथार्थमा परिणत हुने बताए ।

भारत सरकारसँग २०६२ सालमा सम्झौता भई २०६५ देखि मेकानिकल, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल तथा क्रमशः सिभिल र आईटी इन्जिनियरिङमा तीनवर्षे डिप्लोमा सञ्चालन गर्दै आएको मनमोहन पोलिटेक्निक, हाल कोशी प्रदेश सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालयका रूपमा रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्