भारतमा भारतीय जनता पार्टी वस्तुतः वर्णप्रधान, धार्मिक एवम् साम्प्रदायिक पार्टीको रूपमा चिनिन्छ । यसका मुख्य नेता दिवंगत अटलबिहारी बाजपेयी हुन् । उनको वैचारिक प्रभाव र व्यक्तित्वको लोकप्रियताको जगमा आजको भाजपा बन्यो । समयक्रममा पार्टी बचाउन र थप सुदृढ र समृद्ध बनाउन जुनियर पृष्ठभूमिका नेतालाई मूल नेतृत्वमा ल्याउन कसैले संकोच मानेनन्, हिचकिचाएनन् र कुनै खालको कन्जुस्याइँ गरेनन् ।

दिवंगत बाजपेयीपछि उनकै जीवनकालमा लालकृष्ण आडवाडी, राजनाथ सिंह, अमित शाहलगायतको नेतृत्व पार्टीमा आयो । अध्यक्ष र उपाध्यक्षको सङ्ख्या काबिल अरु आधा दर्जनभन्दा बढी हुँदाहुँदै पनि यो नेतृत्वले गुजरातबाट उघ्रिएको नक्षत्र नरेन्द्र मोदीलाई अघि सारे । आज उनले सफलतापूर्वक नेतृत्व गरेका छन्, देशलाई आफ्नो राजनीतिक कार्यादेशअनुरुप राज्य सम्हालेका छन् ।

विडम्बना !

हाम्रोमा कम्युनिष्ट नाउँको दर्जनभन्दा बढी सङ्ख्यामा नाङ्ले पसल चलाउन सबै तयार छन् तर एकले अर्कोलाई नेताको रूपमा, साथी र सहयोद्धाका रूपमा, आन्दोलनमा विश्वस्त सहयोगी र सहयात्रीका रूपमा, सहअस्तित्वमा रहेको कमरेडका रूपमा कसैले कसैलाई मान्न तयार छैन । बरु भक्ति, स्तुति, प्रशंसा, आत्मपरक अभिव्यक्ति र देवत्वकरणमा रमाउने गर्दछन् । आफूभित्रकै फरक मतसहितको उपस्थिति र प्रबल सम्भावनालाई किनार लगाउनमा आफ्नो बहादुरी ठान्छन् ।

हाम्रो कम्युनिष्ट जनमत अलपत्र छ, बाँडिएको छ र राजनीतिक बैचारिक मुद्दाबाहिर असंगठित छ । यो मत सर्वस्वीकार्य नेतृत्वको खोजीमा छ । नयाँ भनिएका शक्तिले पनि यसमाथि नजर लगाउने गर्छ, सक्दैन । वस्तुतः देशमा अस्थिरता र चलखेल सिर्जना गर्ने वातावरण यो जनमतबाट बन्छ । यसकारण देशमा छाएको तरल राजनीतिक अस्थायित्व र अस्थिरताको एउटा कारण विखण्डित कम्युनिष्ट आन्दोलन पनि हो । यसको अविलम्ब व्यवस्थापन गर्न रिटायारमेण्ट लिने बेलाको नेतृत्वले स्वस्फूर्त बिदा लिनुपर्छ ।

युवराज बास्कोटा एमालेका केन्द्रीय सदस्य हुन् ।