काठमाडौं । स्याङ्जाका ७० वर्षीय लालबहादुर राना ४७ वर्ष अगाडि रेडियो चोरी गरेको आरोपमा गत आइतबार पक्राउ परेका छन् ।

आफ्नै किराना पसलमा रहेका गल्याङ नगरपालिका–७ कल्लेरीका लालबहादुर २०३५ सालमा भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।

किराना व्यापार गर्दै आएका लालबहादुरलाई ग्राहकको रुपमा पुगेको प्रहरीले नियन्त्रणमा लिएको हो । पसलमा पुुगेका ३–४ जनाको टोलीलाई के सामान लिने भन्दै सोधेकोमा उनीहरुले लालबहादुरको तीनपुस्ते सोधखोज गरेपछि नियन्त्रणमा लिएका थिए ।

तीन पुस्ते विवरणलाई उनीहरुले बोकेर ल्याएको कागजातसँग तुलना गरेपछि आफूहरु प्रहरी रहेको भन्दै लालबहादुरलाई प्रहरी कार्यालय जान भनेका थिए । ७० वर्षीय लालबहादुर प्रहरीले नै जाउँ भनेपछि नाइनास्ती नगरी प्रहरी कर्यालय पुगे । तर, उनलाई किन प्रहरी कार्यालय लगिएको हो भन्ने जानकारी थिएन ।

प्रहरी कार्यालय पुगेपछि भने सोधपुछ सुरु भयो, ‘तपाईंले २०३५ सालमा छिमेकीको रेडियो र सुनका गहना चोरी गर्नुभएको रहेछ नि, हो ?’ त्यो प्रश्न सुनेर लालबहादुर अचम्मित भएका थिए । उनले सुरुमा त प्रहरीले मजाक गरेको ठानेका थिए ।

लालबहादुरले छिमेकी दिलबहादुर रानाको घरबाट रेडियो र सुनका गहना चोरी गरेको अभियोग प्रहरीले सुनाए । उनी २३ वर्षको हुँदा भएको घटनामा चोरी मुद्दा दर्ता भएर अदालतबाट सजाय भएको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो ।

स्याङ्जा जिल्ला अदालतले मुद्दा दर्ता भएको १० वर्षपछि २०४५ मंसिर १६ गते लालबहादुरलाई एक महिना १५ दिन कैद र ५ हजार ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको रहेछ । फैसलापछि न उनी पक्राउ परे, न उनले त्यसविरुद्ध माथिल्लो अदालत गए । फैसलाबारे उनलाई कुनै जानकारी पनि थिए ।

त्यही फैसला कार्यान्वयनका क्रममा प्रहरीले ४७ वर्षपछि उनलाई पक्राउ गरेको हो । स्याङ्जा प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले फैसला कार्यान्वयन गर्ने खटिएको प्रहरीले लालबहादुरलाई पक्राउ गरेको जानकारी दिएका छन् । फैसला कार्यान्वयन नभएको देखिएपछि सोधखोज गर्दा लालबहादुर फेला परेको उनको भनाइ छ ।

आइतबार पक्राउ परेका लालबहादुरलाई जिल्ला अदालतले थुनाका लागि कारागार चलान गरेको छ ।