विराटनगरका युवा उद्यमीद्वारा जिल्ला प्रशासन कार्यालयलाई ४ लाख बराबरको बेन्च सहयोग

विराटनगर । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू विराटनगर महानगर कमिटीका सह–सचिव तथा युवा उद्यमी फरहान शेखले जिल्ला प्रशासन कार्यालय मोरङलाई सेवाग्राहीको सुविधाका लागि फलामको बेन्च सहयोग गरेका छन् । हालैको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको कार्यालय परिसरमा सेवाग्राहीलाई बस्न सहज होस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको उनले बताए ।

आज एक कार्यक्रमका बीच शेखले करिब ४ लाख रुपैयाँ बराबरको फलामे बेन्च निर्माण सम्पन्न गरी मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव र सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य वासिम आलम लगायतका नेताको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले युवा उद्यमी शेखको सामाजिक उत्तरदायित्वको भावनाको प्रशंसा गर्दै प्राप्त सहयोगले कार्यालयमा आउने सेवाग्राहीलाई ठूलो राहत मिल्ने बताए । उनले आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण तथा व्यवस्थापनमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको गरेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले पनि युवाहरुको यस्तो सकारात्मक कार्यले समाजमा राम्रो सन्देश जाने र अरुलाई पनि सामाजिक कार्यमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
सहयोगदाता युवा उद्यमी शेखले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको खबरले आफूलाई मर्माहत बनाएको र सेवाग्राहीले कष्ट झेल्नु नपरोस् भन्ने हेतुले सानो सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि आफ्नो तर्फबाट सामाजिक कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । अनेरास्ववियूका नेतासमेत रहेका शेखले युवाहरु रचनात्मक र सामाजिक कार्यमा लाग्नुपर्नेमा जोड दिए ।

कार्तिक १०, २०८२, दिउँसोको ०२:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर