विराटनगर । गत आर्थिक वर्षमा कोशी प्रदेशसभाका सदस्यहरूका स्वकीय सचिवहरूको तलब भत्तामा मात्रै ३ करोड ७४ लाख ७६ हजार ३३० रुपैयाँ खर्च भएको थियो । प्रदेशसभाका ९३ जना सांसदका स्वकीय सचिवहरूले नायब सुब्बा (नासु) सरहको तलब र चाडपर्व खर्च समेत बुझ्दै आएका थिए । तर, संघीय सरकारले सांसदहरूले स्वकीय सचिव राख्न नपाउने निर्णय गरेसँगै अब यो खर्च जोगिने भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार, गत वर्ष सांसदका स्वकीय सचिवको तलब, र सुविधामा उक्त रकम खर्च भएको हो । स्वकीय सचिवहरूले हालको तलबमान अनुसार मासिक ३४ हजार ७२० रुपैयाँ बुझ्ने गरेका थिए । यो सुविधा प्रदेशसभाका सबै ९३ सदस्यले लिएका थिए । संघीय सरकारको नयाँ निर्णयले अब यो शीर्षकमा प्रदेशकोषमाथि पर्ने वार्षिक करोडौंको व्ययभार स्वत : कटौती हुनेछ ।
प्रदेशसभाका लेखा अधिकृत जीवन राजभण्डारीले मन्त्रीहरूका स्वकीय सचिवको तलब भने सम्बन्धित मन्त्रालयबाटै भुक्तानी हुने गरेको बताए । उनले भने ‘मन्त्रीज्यूका स्वकीय सचिवहरूले उतैबाट तलब पाउनुहुन्छ ।’ राजभण्डारीका अनुसार केही प्रदेशसभा सदस्यहरुले बीचमा स्वकीय सचिव फेर्ने वा हटाउने गरेकाले कुल रकम केही कम देखिएको हो ।
सांसदहरूले स्वकीय सचिव नियुक्तिमा अनियमितता गरेको विषय पनि चर्चामा रहँदै आएको छ । केही सांसदले आफ्नो काम गर्नका लागि अनौपचारिक रूपमा व्यक्ति राख्ने तर तलब भने अर्कैको खातामा जानेगरी ‘खेताला’स्वकीय सचिव नियुक्त गर्ने गरेको केहि कर्मचारीहरु बताउछन् । यस्तो अभ्यासमा कम पढेका वा नातेदारलाई काममा लगाएर तलब अर्कै व्यक्ति वा आफ्नै मान्छेको खातामा हाल्न लगाउने गरिएको थियो । ।