जेनजी आन्दोलनको क्षतिपछि विराटनगर महानगरमा सेवा सुचारु, १३ वडामा क्षति

विराटनगर । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त विराटनगर महानगरपालिकाले अत्यावश्यक सेवालाई प्राथमिकतामा राख्दै काम सुचारु गरेको छ । उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार, महानगर र १३ वटा वडा कार्यालयमा क्षति पुगे पनि नागरिकका जरुरी कामहरू रोकिएको छैन ।

स्वास्थ्य, विदेश जानका लागि सिफारिस जस्ता अत्यावश्यक सेवाहरू तत्कालै सुरु गरिएको छ भने राजस्व र कानुन शाखाहरू पनि क्रमशः सञ्चालनमा ल्याइँदैछ । आन्दोलनमा १९ वडामध्ये १३ वटामा क्षति पुगेको थियो, जसमध्ये ५ वटामा आगजनीबाट पूर्ण क्षति भएको छ । क्षतिग्रस्त वडाहरूमा तत्कालका लागि दुईवटा डेस्कटप र प्रिन्टर उपलब्ध गराएर सेवा थालिएको छ ।
उपप्रमुख कार्कीले पुनर्निर्माणका लागि आर्थिक भार परे पनि सामाजिक सुरक्षा भत्ता र कर्मचारीको दशैं भत्ता जस्ता सुविधा कटौती नगरिने प्रतिबद्धता व्यक्त गरिन् । पुनर्निर्माणका लागि स्थानीय व्यवसायीसँग सहकार्य थालिए पनि प्रदेश र संघीय सरकारबाट भने कुनै आश्वासन प्राप्त नभएको उनले बताइन् ।

अशोज ५, २०८२, दिउँसोको ०१:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर