विराटनगर । मोरङको कानेपोखरीमा रहेको रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले ३ करोड ७४ लाख २४ हजार रुपैयाँ शङ्कास्पद लगानी गरेको पाइएको छ ।
कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । कार्यालयका अनुसार सहकारीको भाका नाघेको ऋण ३३ करोड बढी छ ।
यो रकम कूल ऋण लागनीको ४५.१३ प्रतिशत हो । मापदण्ड अनुसार यस्तो ऋण बढीमा ५ प्रतिशत हुनुपर्छ ।
संस्थाको कुल ऋण लगानी ७३ करोड ९६ लाख १९ हजार ६५९ रुपैयाँ रहेको छ । जसमध्ये ४५ करोड ७६ लाख रुपैयाँ मात्रै असल ऋण छ । यस्तै ३ करोड ४८ लाख ३६ हजार कमसल ऋण, ३ करोड ७४ लाख २४ हजार शङ्कास्पद ऋण लगानी गरेको सहकारीमा खराब ऋण मात्रै २० करोड ९६ लाख ८२ हजार रुपैयाँ अर्थाछ् २८.३५ प्रतिशत रहेको छ ।
अनुगमन टोलीले सहकारीलाई यथाशीघ्र भाका नाघेको ऋणको सावाँ व्याज उठाउन प्रभावकारी कार्ययोजना १५ दिनभित्र बनाई पेश गर्ने तथा सो अनुरुप तुरुन्त असुल उपर गर्न निर्देशन दिएको छ । सहकारीका अध्यक्ष सन्तोष फुयालले रजिष्टार कार्यालयले दिएको जस्तो शंकास्पद र कमसल ऋण आफ्नो सहकारीमा नभएको दावी गरेका छन् ।