चौथो कारोबार दिन पनि घट्यो नेप्से

विराटनगर । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले आइतबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

नेप्से परिसूचक ११.५२ अंक घटेर २७०८.२५ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६६ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५ अर्ब १४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३४ स्टकको ५८ हजार ८७ पटकको कारोबारमा ४ अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँबराबरको १ करोड ११ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ९.९७ प्रतिशत अर्थात ३५ रुपैयाँ ५० पैसा बढेर ३९१ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन एनआईबिएल समृद्धि फण्ड २ को इकाईमूल्य ५.८३ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ५.१२ प्रतिशत बढेको छ । कारोबारमा आएको पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य यस दिन सबैभन्दा बढी ४.६२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २७ करोडको शेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको कारोबार रकम २२ करोड नाघेको छ ।

बजारका १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । जलविद्युत उपसमूहको परिसूचक यस दिन ०.६८ प्रतिशत घटेको छ भने बैंकिङ्ग उपसमूहको ०.६५ प्रतिशत घटेको छ ।

भदौ २२, २०८२, साँझको ०५:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर