सहकारी डुब्दा नियामकको रजाइँ : तत्कालीन रजिष्ट्रार खत्रीमाथि घुस लिएको आरोप

सहकारी डुब्दा नियामकको रजाइँ : तत्कालीन रजिष्ट्रार खत्रीमाथि घुस लिएको आरोप

विराटनगर । कोशी प्रदेशको सहकारी क्षेत्र नियमन गर्ने जिम्मेवारीमा रहेका उच्च अधिकारीले आफूहरुसँग घुस मागेको संकटग्रस्त दुई सहकारी संस्थाकाक अध्यक्षहरूले आरोप लगाएका छन् ।

सुनसरीको इटहरीस्थित अम्बे बचत तथा ऋण सहकारी संस्था र मोरङको उमागौरी सहकारीका अध्यक्षहरूले कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले पैसा मागेको आरोप लगाएका हुन् । खत्रीले अहिले भने उमेरहदबाट अवकास पाइसकेका छन् ।

सुनसरीको इटहरीमा केन्द्रीय कार्यालय रहेको र करिब १३ हजार बचतकर्ताको ६१ करोडभन्दा बढी रकम हिनामिना गरेको समस्याग्रस्त घोषित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगरले खत्रीको नाम लिएका हुन् । कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र जिल्ला अदालतमा दिएको मगरले खत्रीलाई ५० लाख रुपैयाँ दिएको बयान लेखाएका हुन् ।

हाल पुर्पक्षका लागि थुनामा रहेका मगरले आयोगमा दिएको बयानमा संस्था संकटमा फसेको बेला सहयोग गर्नुको सट्टा नियामक निकायका प्रमुख खत्रीले उल्टै आर्थिक लाभ लिएको उल्लेख छ । अध्यक्ष मगरले बयानमा इटहरीमै रहेको अम्बे सहकारी र कोशी सहकारी एकीकरण गर्दा ५० लाख रुपैयाँ खत्रीलाई दिएको उल्लेख गरेका छन् ।

अध्यक्ष मगरले सो रकम खत्री र तत्कालीन कोशी सहकारीका उपाध्यक्ष राजकुमार तामाङलाई संयुक्त रूपमा दिएको बयानमा खुलाएका छन् । तामाङ पछि मर्ज भएर बनेको अम्बे कोशी सहकारीमा सञ्चालक थिए । समितिका पदाधिकारीहरूका अनुसार, तामाङले यो प्रकरणमा बिचौलियाको भूमिका खेलेका थिए ।

‘अम्बे सहकारीबाट पटक–पटक गरी ५० लाख रुपैयाँ नगद बुझाइएको थियो,’ मगरले बयानमा भनेका छन् । उनका अनुसार, कोशी बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र कोशी प्रदेशभरि भएकाले अम्बे बचतको घाटा पूर्तिका लागि सेवाविस्तार गर्न एकीकरण गरिएको थियो । यो प्रक्रिया सहजीकरण गरिदिएको बदलामा खत्री र तामाङलाई रकम दिएको उनको बयानमा उल्लेख छ ।

कोशी प्रदेश सरकारले गत पुस २३ गते अम्बे सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । सरकारले संस्थाको सम्पत्ति व्यवस्थापन गरी बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाउन एक व्यवस्थापन समितिसमेत गठन गरिसकेको छ ।
यस्तै प्रकृतिको अर्को आरोप मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारले पनि लगाएका छन् । २२ करोड ४८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका रौनियारले मोरङ जिल्ला अदालतमा दिएको बयानमा सहकारी रजिष्ट्रार खत्रीले विभिन्न बहानामा पैसा मागेको आरोप लगाएका छन् ।

उमागौरी सहकारी ठगी प्रकरणमा नेकपा (एमाले) का सांसद ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अध्यक्ष रौनियार पुर्पक्षका लागि थुनामा छन् भने सञ्चाल कोइरालालाई १ करोड धरौटी माग भएको छ ।
रौनियारले बयानमा सहकारीको लेखापरीक्षण पनि खत्रीले तोकेको व्यक्तिसँग गराउनु परेको उल्लेख गरेका छन् । ‘हरिबहादुर खत्रीले प्रदेश रजिस्टारको जिम्मेवारी पाएपछि विभिन्न सहकारी संस्थाहरूको लेखापरीक्षण गर्न महंगो शुल्क लिई लेखापरीक्षण भगिरथ खनाल तथा एसोसिएट्सलगायत अन्यसँग गराएका थिए । सोही सन्दर्भमा हाम्रो अफिसको कार्यालयमा फोन गरी खत्रीले लेखापरीक्षण हामीबाटै गर्नुपर्छ, संस्था राम्रोसँग सञ्चालन गर्ने वातावरण बनाइदिन्छौं भनी ३ लाख रुपैयाँ वार्षिक माग गरेका थिए ।’

रौनियारका अनुसार, सो शर्त नमानेपछि खत्रीले आफ्नै मोबाइल नम्बर ९८४२०४४६०० बाट धम्कीपूर्ण सन्देश पठाएका थिए । उनले भनेका छन्, ‘मान्ने कि नमान्ने ? नमानेको खण्डमा केही भइहाला, त्यसको जवाफदेही तपाईंले लिनुपर्छ,’ भन्ने म्यासेज खत्रीले पठाएका थिए ।’

खत्रीको धम्कीपछि आफूले २०८१ जेठ ६ गते प्रधानमन्त्री कार्यालय, सहकारी विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा समेत उजुरी दर्ता गराएको रौनियारले उल्लेख गरेका छन् । सहकारी ठगीको आरोपमा थुनामा रहेका उनीहरुले नियामक निकायका प्रमुखमाथि गम्भीर आरोप लगाएको भएपनि त्यसको कुनै थप अनुसन्धान भने भएको छैन ।
सहकारी संस्थाहरूले बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरिरहेको र सयौं संस्था संकटमा फसिरहेको अवस्थामा नियामक निकायको भूमिका प्रभावकारी नहुँदा व्यापक आलोचना भइरहेको छ । तर, अहिले नियामक निकायका प्रमुखमाथि नै सहकारी सञ्चालकहरूसँग मिलेर आर्थिक लाभ लिन खोजेको आरोप लाग्नु गम्भीर देखिएको छ ।आरोपित खत्रीले भने यो आरोप निराधार भएको दाबी गरेका छन् । उनीहरुले गरेको गल्ती अन्यत्र मोड्नका लागि यस्तो आरोप लगाएको खत्रीले दावी गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्