विराटनगर । सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।कोशी प्रदेशका ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गर्ने यी पसलहरूबाट उपभोक्ताले विभिन्न खाद्यान्नमा प्रतिकिलो २ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कोशी प्रदेशको झापास्थित बिर्तामोड, ताप्लेजुङ, मोरङको विराटनगर, भोजपुर, संखुवासभाको सदरमुकाम र भोटखोला गाउँपालिकाको हटियागोला, सोलुखुम्बु, ओखलढुंगाको सदरमुकाम र चम्पादेवी गाउँपालिकाको कालिका खरिद बिक्री केन्द्र तथा खोटाङको शाखा कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । खाद्य कम्पनीले देशभर १११ र साल्ट ट्रेडिङ कर्पोरेसनले ३८ स्थानमा यस्ता पसलहरू खोल्नेछन् ।

कम्पनीका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाका अनुसार, मन्त्रालयले गत भदौ ८ गते नै सुपथ मूल्य पसल सञ्चालन गर्ने प्रस्ताव स्वीकृत गरिसकेको हो । चाडपर्वको समयमा उपभोक्तालाई राहत दिन विभिन्न खाद्यान्नमा छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।